PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको छात्रवृत्ति



पहिलोपोस्ट

अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको छात्रवृत्ति

काठमाडौं : सिंगापुरको इन्फिनिटी स्टुडियोले अस्कर इन्टरनेसनल फिल्म कलेजका ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। बुधबार कलेज परिसरमै आयोजित कार्यक्रमका स्टुडियो प्रतिनिधि स्यु मोले छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरेकी थिइन्।

यो साल निपिल शर्मा, दिवस अम्गाइँ, बबिन दुलाल, आशिष लिम्बू र सन्दीप श्रेष्ठले छात्रवृत्ति पाएका हुन्। छात्रवृत्ति वापत उनीहरूले जनही ३५ हजार रुपैंया प्राप्त गर्नेछन्।

अस्कर कलेज र इन्फिनिटी स्टुडियोले अघिल्लो वर्षबाट विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेका हुन् । अघिल्लो साल कलेजका विद्यार्थीहरू अमेश भण्डारी, रिजन गजुरेल, मार्टिन भण्डारी, अंकित पौडेल र इशान भुसालले सो छात्रवृत्ति पाएका थिए।

कार्यक्रममा बोल्दै स्यु मोले छात्रवृत्तिको रकम थोरै भए पनि यसले विद्यार्थीमा उर्जाको काम गर्ने बताइन्। ‘हामीलाई थाहा छ, हामीले दिएको पैसा ठूलो होइन तर यसले विद्यार्थीलाई उत्प्रेरित गरोस् भन्ने हाम्रो चाहना हो। हामी आउँदो दिनमा पनि अस्कर कलेजसँग सहकार्य गर्न ईच्छुक छौं,’ मोले भनिन्।

उनले फिल्म निर्माण रचनात्मक प्रक्रियाका साथसाथै व्यवसाय पनि भएकाले विद्यार्थीले रचना र व्यापारलाई सँगसँगै लैजान सक्ने खुबी निर्माणका लागि पनि आग्रह गरेकी थिइन्। कलेजका प्रिन्सिपल विनोद पौडेलले सम्पूर्ण विद्यार्थीबाट ५ जनालाई मात्र छात्रवृत्ति दिनु पर्ने बाध्यताका कारण पाँच जनाको नाम छनोट गरे पनि बाँकीले आफूलाई अयोग्य नसम्झन आग्रह गरे।

‘सबै विद्यार्थीमा उत्तिकै सम्भावना छ। हामीले छानेका ५ जना सक्षम र बाँकी अक्षम भन्ने होइन। योभन्दा ठूला पुरस्कारले तपाईंलाई पर्खिरहेका छन्’ पौडेलले भने।

अस्कर कलेज र इन्फिनिटीले अन्य प्राविधिक विषयमा पनि क्रमैसँग साझेदारी गर्दै जाने योजना रहेको प्रिन्सिपल पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell