पोखरा : कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो।
गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा हत्या भएको थियो। मारिएका दुवै भोजपुरको षडानन्द नगरपालिकाका हुन्।
प्रहरीका अनुसार लिम्बु दुवै जनाको हत्या गरी उनीहरुको मोबाइल लिएर फरार भएका थिए। प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा ट्रेस गर्दा लिम्बु हटौडा पुगेको देखियो। त्यहाँ पुगेर उनले नयाँ नम्बर लिए। हेटौडाबाट उनी सिधै धनकुटा लागे। धनकुटा छतर जोरपाटी पुगेपछि उनले पटकपटक श्रीमतीलाई फोन गरे। श्रीमतीसँगको सम्पर्क र मोबाइल ट्र्याकको आधारमा नै प्रहरी सागर सम्म पुग्न सफल भयो।