PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

नारायणकाजी श्रेष्ठको टिप्पणीले किन हच्किए भीम रावल?



पहिलोपोस्ट

नारायणकाजी श्रेष्ठको टिप्पणीले किन हच्किए भीम रावल?

  • पासाङ ठकुल्ला - 
काठमाडौं : दुई दिन अघि प्रधान मन्त्री शेरबहादुर देउवाले बिहीवार बिहान ९ बजेका लागि सर्वदलीय बैठक डाकेका थिए। 

सर्वदलीय बैठक आह्वान गर्नुको कारण थियो - राष्ट्रिय सभाको निर्वाचन मिति, प्रदेश प्रमुख र अस्थायी प्रदेश मुकाम तोक्ने विषयमा राजनीतिक सहमति खोज्नु। आलोचना धेरै खेपिरहेका प्रधानमन्त्रीले यी महत्वपूर्ण निर्णय राष्ट्रिय दलका नेतासँगको छलफलकै आधारमा गर्न चाहे।
 
बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भयो। बैठक सुरु हुनुअघि नै क्यामरा पर्सनलाई बोलाइयो – नेताहरुको भिजुअल लिन। 

अनुपस्थित भएका कारण फोटो र भिडियो खिच्न गएकाको फ्रेममा नेकपा एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल कैद हुन सकेनन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि नगएकाले आउट अफ फ्रेम नै रहे। 

बरिष्ठ नेताहरुको उपस्थिति नदेखिए पनि एमालेले उपाध्यक्ष भीम रावल, सुभास चन्द्र नेम्बाङ, विष्णु पौडेल र अग्नि खरेल पुगेका थिए। अरु दलका भने शीर्ष नेता आफैँ उपस्थित भए। 

१ डिग्री सेल्सियसले मौसम चिस्याएको थियो। त्यसैले नेताहरु बाक्ला कोट पाइन्टमा राजनीतिक समाधानको खोजीमा पुगेका थिए। केही समय छलफल भयो। नेताहरु बाहिरिन थाले। 

माओवादी केन्द्रका अध्यक्ष दाहालसँगै अघिपछि गर्दै माओवादी नेताहरु निस्किए। नेकपा एमालेका नेताहरु राजपाका नेता राजेन्द्र महत र कांग्रेस नेता विजयकुमार गच्छदारसँग गफिन व्यस्त देखिए। 

बैठक सकिएको चाल पाएपछि जिज्ञासा बोक्दै सञ्चारकर्मी नेताको प्रतिक्रिया लिन दौडिए सधैं झै। नेकपमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ मोबाइल चलाउँदै सञ्चारकर्मी भएतिर लम्किए। 

बैठकमा छलफल भएका विषयबारे नेता श्रेष्ठले सुरुमा जानकारी गराए। 

उनले भने, ' नयाँ सरकार गठनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउन वाम गठबन्धनले सुझाव दियो।' 

उनले अझ ब्रिफ जारी राखे। ‘राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोक्न ढिलाइ भए सह्यै हुँदैन,’ नेता श्रेष्ठले भने, ‘निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नका लागि आवश्यक संवैधानिक र कानुनी पक्रिया पूरा गर्न पाउँछ। सरकारले के के गर्नु पर्छ छिटो गरोस्।’

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश प्रमुख चाहिने भनेको छ। यस विषयमा उनले भने,  ‘जन प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्ने विषयमा सरकारले आफ्नो ढंगले निर्णय गर्न पाउँछ। तर दीर्घकालिन नियुक्ति नीतिगत निर्णय भने गर्न पाउँदैन।’ 

श्रेष्ठले प्रदेश प्रमुख सरकारले आफ्नो ढंगबाट चयन गर्न पाउने प्रतिक्रिया दिएपछि सञ्चारकर्मी माओवादी केन्द्रसँग एकताको प्रक्रियामा रहेको पार्टी नेकपा एमाले तर्फका उपाध्यक्ष भीम रावलतर्फ झुम्मिए।

पार्टी एकताको प्रक्रियामा रहेका बेला वाम गठबन्धनका नेता श्रेष्ठले दिएको अभिव्यक्तिले रावल अफ्ठेरोमा परे। कारण थियो - प्रदेश प्रमुख नियुक्त गर्ने बारे वाम गठबन्धका दुई पार्टीको फरक फरक मत। 

एकै ठाउँमा दुई धारका कुरा गर्न गाह्रो पनि थियो। फरक विचार राख्दा एकातिर सञ्चारकर्मीको प्रश्न भने अर्कातिर वाम गठबन्धका नेता। 

सुरुमै 'हामी एकै पार्टीका' भन्दै बोल्न आनाकानी गरेका रावलले सञ्चारकर्मीले जोड गरेपछि प्रतिक्रिया दिन तयार भए। 

उनले सयंमित भएर कुटनीतिक हिसाबले प्रतिक्रिया दिए। भने,  ‘हामी एकै पार्टीका नेता हौं, कुरा एकै हो, शब्द फरक पर्नसक्छ।’ 

उनले थपे, ‘प्रदेश प्रमुख तोक्ने विषयमा के कसरी गर्ने यस विषयमा हामी जानकार छैनौं। तर, सरकारले कुनै किसिमको बाधा अड्चन नआउने गरि राष्ट्रिय सभा निर्वाचन प्रक्रिया अघि बढोस्।’

यसअघि नेकपा एमालेका नेताहरुले कामचलाउ सरकारले प्रदेश प्रमुख तोके प्रदेश सभामा निर्वाचित सदस्यहरुले सपथ नगर्ने अभिव्यक्ति दिएका थिए। आज यसैको मारमा परे रावल। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell