काठमाडौँ : महँगो बजेटमा निर्माण गरिएको फिल्म ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ। ६० दिन लगाएर सुट गरिएको फिल्मको सुटिङ मै २ करोड खर्च भएको निर्माण यूनिटले जनाएको छ।
झापा र काठमाणडौँमा फिल्मको छायांकन गरिएको फिल्म हो। फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए। बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ।
निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि फिल्म रिलिज गराउने तयारी गरेको थियो। तर उक्त डेटबाट फिल्म केही समय पर सरेको छ। अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ।
चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन्।
यमूना खरेल र राज केसी सह निर्माता रहेको फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ। कमेडी जनराको चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी छ।