PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भोलिदेखि ग्यास उद्योगमा अनुगमन, गुणस्तर चिन्ह नलिएकालाई कारवाही



अमर बडुवाल

भोलिदेखि ग्यास उद्योगमा अनुगमन, गुणस्तर चिन्ह नलिएकालाई कारवाही

काठमाडौं : गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह(एनएस) नलिएका ग्यास उद्योग बन्द गर्ने भएको छ।

वीरगंजमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभाग एग्रेसिभ बन्दै गुणस्तर चिन्ह नलिएका उद्योगलाई विभागले बन्द गर्ने भएको हो।

अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन्। ग्यास जस्तो संवदेनशील वस्तुमा समेत उद्योगीले हेलचेक्र्यार्इँ गरेको भन्दै विभागले शुक्रबारदेखिनै ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रकृया अघि बढाउन लागेको हो।

‘हामी भोलिदेखिनै ग्यास बोटलिङ प्लान्टको अनुगमन गरेर तत्कालै कारवाही थाल्दैछौ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले  भने, 'ग्यास उद्योगीले संवदेनशील विषयलार्इ ख्याल गरेनन् र हेलचेक्र्यार्इँ गरिरहेपछि हामीले कडा कदम चाल्न लागेका हौं।' उनका अनुसार उद्योग स्थापना भएका स्थानका जिल्ला प्रशासन कार्यालयमार्फत मापदण्ड पूरा नगरेका उद्योगलार्इ कारवाही प्रकृया अघि बढाइनेछ।

पत्रिकामा सूचना निकालेर बारम्बार ताकेता गर्दा पनि गुणस्तर चिन्ह लिन नआएपछि विभागले कार्वाही गर्ने भएको हो। 'गुणस्तर चिन्ह नलिएका, मापदण्ड पूरा नगरेका उद्योगको सञ्चालनमा रोक लगाउन सक्ने काननी व्यवस्था छ। भोलिदेखि नै अनुगमन गर्ने भनेर आयल निगमलाई खवर गरिसकेका छौ,' पुडासैनीले भने।

तर नेपाल ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिव घिमिरेले भने सबै उद्योगले मापदण्ड पूरा गरेरै सञ्चालन गरेको दावी गरे। 'हामीले अनुमति लिने बेलामा मापदण्ड पुगेकै थियो,' घिमिरेले भने, '४३ वर्ष अघि देखि उद्योग सञ्चालनमा छन्। एक वर्ष अघि आएको मापदण्ड अनुसार जान आर्थिक रुपमा निकै चुनौतीपूर्ण भएकाले गुणस्तर चिन्ह नलिएका हुन्।' उनका अनुसार मापदण्ड अनुसार जाँदा थप जग्गा खरिद गर्नुपर्ने हुन्छ।

'नयाँ मापदण्डले कतिपय ग्यास उद्योगले थप जग्गा खरिद गर्नुपर्ने भयो, कतिपय उद्योगले थप गाडी किन्नुपर्ने भयो,' उनले भने, 'नापतौल विभाग गुणस्तर चिन्हका लागि ताकेता गर्छ। तर थप लगानी आयल निगमले समायोजन गरिदिनुपर्छ।‘ अहिलेसम्म नेपाल ग्यास, मनोज, श्रीकृष्ण र साईबाबा ग्यासले मात्र नेपाल गुणस्तर चिन्ह (एनएस) लिएका छन्। नेपालमा अहिले ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell