PahiloPost

May 15, 2024 | २ जेठ २०८१

जीतपुर सिमराका मेयरले १०० दिनमै शुरु गरे ६ योजना



राधेश्याम पटेल

जीतपुर सिमराका मेयरले १०० दिनमै शुरु गरे ६ योजना

बारा : जीतपुर सिमरा उपमहानगरपालिका मेयरले १०० दिनको अवसर पारी ६ वटा योजना शुरु गरेका छन्। जिम्मेवारी सम्हालेको छोटो समयमै कार्ययोजना बनाउँदै दुई नम्बर प्रदेशमा पहिलो पटक नगरसभा सकेर काम गर्न मेयर डा. कृष्ण पौडेल र उनको टिम अग्रसर देखिएको छ।

कात्तिक ३० गते सम्पन्न प्रथम नगर सभाबाट पारित योजनालाई उपभोक्ता समितिबाट निर्माण गर्ने गरी नगर प्रमुख पौडेलले आजै विभिन्न योजनाहरुको शिलान्यास गरे। 

जीतपुरसिमरा– १६ पिलुवामा रहेको रामजीआदर्श खानेपानी उपभोक्ता समितिको पर्खाल र गेट निर्माण, १५ नम्बर वडामा हात्तीसारमा दुई वटा सडक ढलान, वडा नं १८ को उचिडीमा सडक ढलान, ५ नम्बरस्थित बकुलियामा सडक ढलान र ७ नम्बरस्थित जीतपुरमा सडक ढलानको शिलन्यास गरेका हुन्।
 
योजना शिलन्यासका क्रममा उपमहानगर उपप्रमुख सरस्वती चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेतीसहित विभिन्न वडाका वडा अध्यक्ष तथा उपमहानगरपालिकाका कर्मचारीहरुको सहभागिता थियो। 

पूर्वाधार कमजोर रहे पनि जनसंख्या र भूगोलका आधारमा मात्रै उपमहानगरपालिका घोषणा भएको जीतपुर सिमरा उपमहानगरमा असोज १० गते पदभार ग्रहण गर्दै काम थालिएको थियो। नगर प्रमुख डा. पौडेलले यस आर्थिक वर्षको काम सडक शिलन्यासबाट अघि बढाउँदै उपमहानगरपालिकालाई नमुना नगरको दर्जा दिलाउन उनी केन्द्रित रहेको बताए।

‘सडकको विकास भए, चारै तिर विकास गर्न सहज हुन्छ,’ मेयर पौडेलले भने,‘ सडकको विकास भनेको बहुआयामिक विकास हो, त्यसैले सडकलाई पहिलो प्राथमिकतामा राखे।’

लामो समयपछि जनप्रतिनिधि आएपछि जनताले स्थानीय सरकारको प्रत्याभूति गर्न थालेको चर्चा गर्दै नगर प्रमुख डा. पौडेलले योजनावद्ध ढंगबाट जनताले चाहेको कुरा पूरा गर्ने विश्वास व्यक्त गरे।

निर्वाचित भएर सपथ ग्रहण गर्ने क्रममा भोजपुरी भाषालाई उपमहानगरको दोस्रो कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन निर्देशन दिँदै कार्यभार सम्हालेका नगर प्रमुख डा. पौडेलले ठूलो समस्याको रुपमा रहेको फोहोर ब्यवस्थापनको समस्यालाई दीर्घकालीनमा रुपमा समाधान हुने गरी ल्याण्डफिल्डसाइडको काम अघि बढिसकेको बताए।
   
उपमहानगरले आर्थिक वर्ष २०७४÷७५ का लागि झण्डै ८५ करोडको बजेट बिनियोजन गरेको छ। उपमहानगरको बजेटले मात्रै सोचेजस्तो विकासका काम गर्न असम्भव रहेको भन्दै उनले केन्द्रीय अनुदानका निम्ति विभिन्न सरोकारवाला निकाय र दातृसंस्थासँगको भेट र परामर्शलाई पनि तीब्रता दिएको बताए।

एकीकृत शहरी विकास योजनाको विषयमा डा. पौडेलले शहरी विकास तथा भवन निर्माण विभागमा पहल थालेका छन्। उपमहानगरले जीतपुरमा करिब पचास करोडको लागतमा दुई सय शैय्याको अस्पताल, सर्पदंश उपचार केन्द्र र शहरी स्वास्थ्य क्लिनिक स्थापना गर्ने योजना अघि बढाएका छन्।

त्यसैगरी, प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना, डुमरवाना, अमलेखगञ्ज, मनहर्वा र इनर्वासिरामा बर्थिङ्ग सेन्टर र २४ घण्टे इमर्जेन्सी सेवा स्थापना गर्ने योजनामा पनि कार्य थालेका छन्।

खेलकुदका लागि सिमरामा निर्माणाधीन सिमरा रंगशालामा पूँजीगत सहयोग गर्ने, सिमरा र भलुहीमा कभर्डहल निर्माणका लागि प्रक्रिया आरम्भ गर्ने, विभिन्न स्थानमा रहेका सार्वजनिक खेलकुद फिल्डहरुको व्यवस्थापन गर्ने र खेल तथा खेलाडी क्षेत्रको प्रवर्द्धनका लागि काम गर्ने योजनालाई कार्यान्यवन गर्ने प्रमुख डा. पौडेलको भनाई छ। 

८४ वर्ष पूरा गर्ने बृद्धबृद्धालाई विशेष सम्मान योजना, अपाङ्ग मैत्री सडक, सार्वजनिक संरचना र अपाङ्ग परिचयपत्र र भत्ताको संयोजन गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकलाई घरमा सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्ने कामलाई अघि बढाएको पनि बताए। पर्सा राष्ट्रिय निकुञ्जका कारण पर्यटनको सम्भावना रहेकाले चुरिया, अमलेखगञ्ज, आधाभार र पथलैयालाई समेटेर पर्यटन जोन निर्माण गर्ने योजना उपमहानगरको रहेको प्रमुख डा. पौडेलले बताए। सार्वजनिक, ऐलानी, पर्ती जग्गा व्यवस्थापन, सुकुम्बासी समस्या समाधान र  एकीकृत बस्ती निर्माणका विषयमा पनि उपमहानगर योजनाका साथ अघि बढ्ने उनको भनाई छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell