
स्पानिस कोपा डेल रे अन्तिम १६ मो पहिलो खेलमा रियल मड्रिडले जित हात पार्दा लिग लिडर बार्सिलद्दा भने बराबरीमा रोकिएको छ। स्टार खेलाडी लियोनल मेसी र लुइस सुवारेजलाई आराम दिंइएको खेलमा बार्सिलोना सेल्टाभिगोसँग १-१ को बराबरीमा रोकिएको हो।
सेल्टाको मैदानमा भएको खेलको १५औँ मिनेटमै जोस अर्नाइझले गोल गर्दै बार्सलाई अग्रता दिलाएका थिए। तर ३१औँ मिनेटमा पिओने सिस्टोले गोल फर्काउँदै खेल बराबरी गरे।
मेसी र सुवारेज नखेलेपनि यसै खेलमार्फत बार्सिलोनाका ओसमान डेम्बेलेले कमब्याक गरेका छन्। गोलकर्ता अर्नाइजको स्थानमा ७२औँ मिनेटमा डेम्बेले मैदान प्रवेश गरेका थिए।
उता क्रिस्टियानो रोनाल्डो र करिम बेन्जामा जस्ता स्टार नखेलेपनि रियल मड्रिडले नुमानसियालाई ३-० ले हरायो।
रियलका लागि दुई गोल पेनाल्टीबाट भएको थियो। गारेथ बेलले ३५औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ६०औँ मनेटमा डिएमन्का दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि नुमानसिया दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदामा रियलले दुई गोल थप्यो। रियलका लागि ८४औँ मिनेटमा इस्कोले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए। बोजा मोयारेलले इन्जुरी टाइममा तेस्रो गोल गरे।
अन्तिम १६ कै अन्य खेलमा लेभान्टेले स्पानयोललाई २-१ तथा लेगानेसले भयारियललाई १-० ले पराजित गरेको छ।