PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

सुशील कोइराला नाटकघरबाट ‘दिल्ली टु दुबइ’ कचहरी यात्रा, मोरङका १० गाविस पुग्दै



पहिलोपोस्ट

सुशील कोइराला नाटकघरबाट ‘दिल्ली टु दुबइ’ कचहरी यात्रा, मोरङका १० गाविस पुग्दै

मोरङ: चेलिबेटीहरूलाई दलालले कसरी प्रलोभनमा पारेर विदेश पु-याउँछन् र फसाउँछन ?

नेपाली चेलीको भोगाइ रहेको नाटक ‘दिल्ली टु दुबइ’ यात्राको गत विहिबार विराटनगरको सुशील कोइराला नाटक घर गुरुकुलमा मञ्चन गरियो ।
नाटक शुक्रबार देखि जिल्लाका साविकका दश गाविसमा मञ्चन गर्ने एक्टर्स स्टुडियोका व्यवस्थापन प्रमुख देव न्यौपानेले बताए ।

नाटकले महिला हिंसा न्युनीकरणमा कस्तो प्रभाव पार्छ भन्ने अनुसन्धानको सिलसिलामा यो कचहरी सुरु गरिएको हो । यो नाटक तयार पार्नमा स्विडेनको लिनियस विश्वविद्यालय र काठमाडौं मेडिकल कलेजले सहकार्य गरिरहेको निर्देशक अनुप बरालले बताए । ‘समुदायमा नाटक प्रस्तुत गरिसकेपछि त्यसका पात्रलाइ परेका समस्यामाथि कचहरीमा दर्शकमाझ छलफल पनि चलाइन्छ,’ निर्देशक बरालले भने, ‘दर्शक आफै आफ्नो बीचार दिन्छन् र त्यसै विचारमा अभिनय पनि गर्न सक्छन् ।’ यसरी गरिएको नाटकले दर्शकमा गहिरो छाप छाड्न सक्ने उनले बताए ।

लिनियस विश्वविद्यालयबाट अनुसन्धानकर्ता प्रणव दाहालका अनुसार यो अनुसन्धान साविकका २० गाविसमा दुई वर्षअघिदेखि नै सुरु भएको हो । दश गाविसमा यसअघि नै सोही विषयमा दुई चरण फरक नाटक स्टुडियोले मञ्चन गरिसकेको छ । ‘तेस्रो चरणको यो मञ्चन सकेपछि नाटक मञ्चन गरिएका साविकका १० गाविस र नगरिएका १० गाविस बीच तुलनात्मक मुल्यांङन गर्नेछौं,’ दाहालले भने । अनुसन्धान त्यसपछि मात्र नाटकको प्रभावका बारेमा नतिजा नजिक पुग्नेछ ।

नाटक शुक्रबारबाट जिल्लाका केरौन, तेतरिया, बाहुनी, झुरकिया, केराबारी, अमरदह, डागिहाट, बबियाबिर्ता, याङशिला र गोबिन्दपुरमा मञ्चन गरिने एक्टर्स स्टुडियोले जनाएको छ । चेलिबेटी बेचबिखनमा अति प्रभावित १० जिल्ला मध्ये मोरङ पनि एक हो । पूर्वका विकट पहाडी जिल्लाहरूबाट भारत लगायत तेस्रो मुलुकमा बेचबिखनका लागि महिला तस्कर गर्न यो जिल्लालाई नाकाको रुपमा प्रयोग गरिँदै आएको विभिन्न तथ्यांङहरूले देखाएको छ । 

नाटकमा कलाकारहरू दिया मास्के, कमल देवकोटा, अनुज पाण्डे, मनिष निरौला, बिनिता थापा मगर, प्रेमवर्षा खड्का, सुरज मल्ल आदिले अभिनय गरेका छन् । प्रलय चौलगाई र दिपेन्द्र सिटौलाको संगीत संयोजन रहेको यस नाटक भवसागर घिमिरेले लेखेका हुन ।
 
कचहरी नाटकको सामाजिक प्रभावमाथि दाहालले गरिरहेको यो अध्ययनलाइ लिनियस विश्वविद्यालयको तर्फबाट प्राध्यापक डाक्टर कट्रिन स्वानबर्ग र काठमाडौं मेडिकल कलेजको तर्फबाट प्राध्यपक डाक्टर सुनिल कुमार जोशीले सघाइरहेका छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell