PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

फेवाताल किनारामा चल्यो डोजर, अतिक्रमण हटाउन मेयर जिसीले चाले यस्तो कदम



नरहरि पौड्याल

फेवाताल किनारामा चल्यो डोजर, अतिक्रमण हटाउन मेयर जिसीले चाले यस्तो कदम

पोखरा: पोखराको पर्यटकीय केन्द्र फेवाताल किनारमा मापदण्ड मिचेर निर्माण गरिएको संरचना पोखरा लेखनाथ महानगरपालिकले बिहिबार भत्काएको छ।

संक्रमणकालीन अवस्थाको फाइदा उठाउदै निर्माण गरिएका र रातारात फेवाताल किनारमा ब्यक्तिगत प्रयोजनका लागि निर्माण गरिएका अवैध संरचना भत्काइएको हो।

फेवाताल किनारमा पर्ने खपौंदी, गैराको चौतारालगायतका स्थानको ताल किनारमा केही व्यवसायीले घरटहरा निर्माण गरिरहेका बेला महानगरपालिकाले पटकपटक निर्माण सामाग्रीहरु जफत गर्दा पनि निर्माण कार्य जारी राखेपछि महानगरपालिकाले बिहिबार डोजर लगाएर भत्काएको हो। 

महानगरपालिकाले पटकपटक निर्माण रोक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि  नगर प्रहरी,  नेपाल प्रहरीसहित टोली सुरक्षाकर्मी प्रयोग गरेर गैरकानुनी संरचना डोजर लगाएर भत्काएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। ‘हामीले पटकपटक गरेको आग्रहको बेवास्ता गरेपछि बाध्य भएर डोजर लगाउनु पर्यो’ उनले भने, ‘फेवाताल पोखराको गहना हो, यसको संरक्षण गर्नु महानगरको दायीत्व हो।’

महानगरपालिकाका प्रमुख जिसीले फेवाताल र सिमसार क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु भत्काएरै छाड्ने बताए। उनले फेवाताल पोखराको गहना भएपनि मानव अतिक्रमण र प्राकृतिक अतिक्रमणको चपेटामा पर्दै जान थालेको बताए।

दिनप्रतिदिन ताल वरपरका सिमसार क्षेत्रमा अतिक्रमण बढेपछि स्थानीयले महानगरपालिका र सरोकारवाला निकायलाई अतिक्रमणप्रति गम्भीर हुन ध्यानाकर्षण गराएका थिए। फेवाताल सिमसार क्षेत्रमा केही व्यवसायीले धमाधम घरटहरा निर्माण गरेको भन्दै स्थानीयले उनीहरु बिरुद्ध कारवाही गर्न माग गरेका थिए।

फेवाताल र वरपरको सिमसार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौंतिक संरचना लगायतका घरटहरा भत्काउने अभियानलाई तीव्र रुपमा अगाडि बढाउने उपमेयर मञ्जुदेवी गुरुङले बताइन्। ‘महानगरको यो अभियान तीव्ररुपमा अगाडि बढ्छ,’  उनले भनिन्। ‘फेवाताल वरपर र नगरका अन्य क्षेत्रमा पनि अतिक्रमण गरी निर्माण भएको अवैध संरचना प्रक्रिया अनुसार हटाउँ छौ, कुनै बहानामा रोकीदैन।’

खपौंदी, गैराको चौतारालगायतका ताल किनारमा केही व्यवसायीले घर टहरा निर्माण गरिरहेका बेला महानगरपालिकाका नगरप्रहरीले निर्माण सामाग्रीहरु जफत गरेपनि उनीहरुले निर्माण कार्य जारी राख्दै आएका थिए। 

करिब ६ किलोमिटर अर्थात १० हजार रोपनीमा फैलिएको फेवाताल किनाराको सिमसार क्षेत्रको ठूलो भूभाग विभिनन्न बहानामा अतिक्रमण हुँदै गएको सरोकारवालाहरुले बताएका छन्। तालमा अतिक्रमण रोक्न र फेवातालको मुख्य स्रोतकोरुपमा रहेको खहरे तथा हर्पन खोलाले बगाएर ल्याउने ढुंगामाटोको समेत रोकथाम गर्न सरकारलाई बिज्ञहरुले सुझाव समेत दिदै आएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell