काठमाडौं : आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह नगरपालिका २ मा गोली लागि घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भयो।
टाउकोमा गोली लागि घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। पौडेल एमाले नेता निलकण्ठ पौडेलका छोरा हुन।
बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवकले पौडेलमाथि गोली प्रहार गरेका थिए। मिल व्यवसायी पौडेललाई 'काठको अर्डर गर्नु छ' भन्दै अर्डर टिप्न लाग्दा गोली हानेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएको डिएसपी डिल्लीराम पाण्डेले बताए।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। तर, घटना भएको केही समया नै जिम्मेवारी भने मनोज पुनले लिएका छन्। पुनले रुपन्देहीका केही मानिसलाई फोन गरेर घटना आफूले घटाएको सुन्नमा आए पनि औपचारिक जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीराम पाण्डेले बताए। डिएसपी पाण्डेले भने, 'पुनले नै घटना गराएको भन्ने हल्ला सुनिएको छ। तर, मलाई नै फोन गरेर भनेको कसैले भनेका छैनन्।'
गतवर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्तको रुपमा पुन प्रहरीको खोजी सूचीमा छन्।
असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दावी छ। गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। तर, बस्नेतले भने मनोज पुन आफ्नो समुहमा नरहेको भन्दै पुनको बचाउ गर्दै आएका छन्।
पुन तत्कालीन माओवादीमा आवद्ध रहेर स्थानीय राजनीतिमा संलग्न थिए। उनलाई दूर्गा तिवारीले नै माओवादीबाट एमालेको युथ फोर्समा आबद्ध गराएका थिए।
जानकार स्रोतका अनुसार एमालेमा छिरेपछि पुन चन्दा असुल्न सक्रिय भएपछि तिवारीसँग विवाद सुरु भएको थियो। जबर्जस्ती चन्दा उठाएको भन्दै पुनलाई कारबाही गर्दै पार्टीले निष्काशन गरेपछि उनले तिवारीको हत्या गरेको खुलेको हो। पुन तिवारीको हत्या अगाडि नै फरार थिए।
पुन भारतमा बसेर नेपालभित्र अपराधिक गतिविधि गर्दै आएका छन्। भारतीय अपराधिक समुहसँग पनि पुनको पछिल्लो समय उठ्बस हुन थालेको प्रहरी स्रोतले बताएको छ। प्रहरीको खोजी सूचीमा रहेका उनलाई खोजी गरिररहेको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।