
चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई नेपालको आर्थिक राजधानी बनाउने बताएका छन।
शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले चितवन जिल्लालाई नेपालको आर्थिक राजधानी बन्नबाट कसैले रोक्न नसक्ने बताएका हुन्।
प्रचण्डले भने, ‘चितवन जिल्ला नेपालको आर्थिक राजधानी बन्नेवाल छ। यसलाई कसैले रोकेर रोकिनेवाला छैन। यो कुरा चाँही दृढताका तथा भन्न सकिन्छ।’
उनले चितवनलाई आर्थिक राजधानी बनाउन सकिने आधारसमेत पेश गरे। जहाँ बढी कनेक्टिभिटी हुन्छ त्यहाँ विकासको सम्भावना हुन्छ। चितवन कनेक्टीभिटीको चाबी हो।
प्रचण्डले थपे, ‘चाहे पूर्वको कुरा गरौँ चाहे पश्चिमको। केरुङबाट ठोरीसम्म बन्दै गरेको राजमार्ग होस या पुर्व पश्चिम रेल मार्ग। यी चितवन हुँदै जाँदै छन्। त्यस अर्थमा चितवन जस्तो कनेक्टिभिटीको डाइनामिक चावी अन्त भेटदैनौँ।’
देश समृद्धिको युगमा रहेकोले उल्लेख गर्दै राजनीतिक क्रान्तिको एक अध्याय सकेको उनको भनाई थियो। प्रचण्डले भने, ‘अब आर्थिक क्रान्ति अपरिहार्य छ। यसको लागि राजनीति नेतृत्व र व्यवसायीमा नयाँ नेपाल निर्माण गरी छाड्ने संकल्प चाहिएको छ।’