PahiloPost

May 14, 2024 | १ जेठ २०८१

राजधानी माग्दै वीरगंजमा रिले अनशन, मधेशी दलका नेताको छैन साथ



राधेश्याम पटेल

राजधानी माग्दै वीरगंजमा रिले अनशन, मधेशी दलका नेताको छैन साथ

वीरगंज : प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगंज बनाउनुपर्ने माग राख्दै आजदेखि वीरगंजको घण्टाघरमा रिले अनशन शुरु गरिएको छ। अनशनमा मधेशवादी दलबाहेक अन्य सबै दलका नेता तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता छ। 

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनिश्चितकालीन रिले अनशन शुरु गरिएको वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले जानकारी गराए। शुक्रवारको रिले अनशनमा काग्रेसका नेता सुरेन्द्र चौधरी, लुकेश सिह, एमाले नेता बसरुद्दीन अन्सारी, शम्भु गुप्ता, माओवादीकी दुर्गा क्षेत्री, युवा नेता ओमप्रकाश सर्राफ, सन्जय सर्राफ, रुदल ठाकुर, महमुद अन्सारी, वृजेश्वर चौधरी, रञ्जु दाहाललगायत १२ जना बसे। 

दुई सातादेखि चरणवद्ध रुपमा विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाले वीरगंजलाई राजधानी बनाउनुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएका छन्। वीरगंज जनकपुर भन्दा भौतिक पुर्वाधारले उपयुक्त रहेको र मधेश आन्दोलन तथा संघीयताको आन्दोलनमा वीरगंजको भूमिका महत्वपूर्ण रहेकाले राजधानीको दर्जा पाउनुपर्ने नेताहरुको तर्क छ। 

तरुण दलका नेता लुकेश सिंहले वीरगंज हरेक दृष्टिकोणले जनकपुरभन्दा राजधानीका लागि ठीक भएको दावी गरे। जनकपुरलाई अस्थायी राजधानी बनाउने सिफारिसको चर्चासँगै पर्सा, बारावासीमा वीरगंजलाई उपेक्षा गरी जनकपुर राजधानी लगिन थालेको अभाष भएको छ। त्यसको विरोध जनाउँदै समाजिक सञ्जालदेखि सडकसम्म विरोधका कार्यक्रम शुरु भएको छ। 

यता, वीरगंजलाई राजधानी बनाउनु पर्ने माग राख्दै संघर्षरत देखिएको कार्यक्रममा मधेसवादी दलका नेता कार्यकर्ताको सहभागिता छैन। ‘जुन दलका नेता राजधानी माग्दै अनशन गर्दै छन्, उनीहरुकै केन्द्रीय नेताले प्रदेश २ को राजधानी जनकपुर लैजाने योजनामा छन्, हिम्मत छ भने केन्द्रीय नेतालाई दवाव दिउन् वा विरोध किन गर्दैनन्,’ संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यबाहक अध्यक्ष सुन्दर प्रसाद कुर्मीले बताए। राजधानीको विषयमा काग्रेस, एमाले, माओवादीका नेता बढी अग्रसर देखिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell