
काठमाडौं : नेपाली सेनाको टिमले राखेप च्याम्पियनसिप अन्तर्गत भएको तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपको टिम स्पर्धामा तीन स्वर्ण हात पारेको छ।
शुक्रबार सम्पन्न टिम स्पर्धाको फ्वाईल तर्फ नेपाली सेनाको टिमले पुरुष र महिला दुवैतर्फ जित हात पार्दै स्वर्ण प्राप्त गरेको हो। सेनाले पुरुषतर्फ मध्यमाञ्चललाई ४५-३८ अंकले पराजित गर्यो भने महिलातर्फ एपीएफलाई ४५-३३ अंकले हरायो।
पुरुषतर्फ एपीएफ र महिलातर्फ मध्यमाञ्चलले कास्य पदकमा चित्त बुझाए।
यस्तै सेनाको टिमले ईपी महिला टिममा पनि मध्यमाञ्चललाई ४५-२७ अंकले पछी पार्दै स्वर्ण हात पार्न सफल भयो। एपीएफ तेस्रो भयो।
पुरुषको ईपी टिमतर्फ भने एपीएफले मध्यमाञ्चललाई ४५-३८ अंकले पछि पार्दै स्वर्ण जित्यो। सेनाको टिम पुरुषतर्फ कास्यमा चित्त बुझाउन बाध्य भयो।
शुक्रबारै भएको फ्वाईल व्यक्तिगत स्पर्धाको पुरुषतर्फको खेलमा सेनाका राजन राज खड्काले एपीएफका महेश प्रसाद भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे। तेश्रो स्थानमा मध्यमाञ्चलका जीवन श्रेष्ठ र एपीएफका शेरसिंह ऐरी रहे।
यस्तै महिलातर्फको फ्वाईल व्यक्तिगत स्पर्धामा पनि सेनाकै खेलाडी विजयी भए। सेनाकी सुनिता बुढाथोकीले स्वर्ण हात पार्दा एपीएफकी मन्दिरा थापाले रजतमा चित्त बुझाइन्। एपीएफका उर्मीला माझी र अनिता अधिकारीले कास्य पदक पाए।
प्रतियोगिताको पुरस्कार वितरण अन्तिम दिन शनिवार २ बजे हुने कार्यक्रम रहेको छ।