PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

हिजो हुन नसकेको हाइ प्रोफाइल भेट : देउवाले किन गरे राष्ट्रपति भेट्ने कार्यक्रम रद्द?



नेत्र तामाङ

हिजो हुन नसकेको हाइ प्रोफाइल भेट : देउवाले किन गरे राष्ट्रपति भेट्ने कार्यक्रम रद्द?

काठमाडौं : शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै थिए। समाचारबारे आधिकारिक जानकारी लिन प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारलाई फोन गरेँ। परियारले यो नियमित भेट भएको र राष्ट्रिय निर्वाचनको मिति तोक्न र अन्य विषयमा छलफल गर्न ३ बेज भेट हुन लागेको पुष्टि गरे। त्यसपछि समाचार बन्यो – राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न राष्ट्रपति र प्रधानमन्त्री भेट्दै। 

भेटमा प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल हुने बताइएको थियो। प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा ३ बजे पुग्ने जानकारी थियो। चार बज्नै लाग्दा राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीलाई फोन गर्दा उनले प्रस्ट भने - राष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले भेट भएको छैन। 

यतिखेरसम्म कतिपय अनलाइनका समाचारमा राष्ट्रपति र प्रधानमन्त्रीको भेट भइसकेको खबर सार्वजनिक नै भइसकेको थियो। भेट्ने कार्यक्रम रहेको पुष्टि गरेर समाचार लेखेको भए पनि भेटिसकेको खबर भने लेख्न बाँकी थियो। आखिर यो हाइ प्रोफाइल भेट राष्ट्रिय महत्वको थियो।  छलफलमा के भयो त? चासो हुनु स्वभाविक नै हो।

राष्ट्रपतिका स्वकीय सचिवलाई फोन गरेको, उनले फेरि दोहर्‍याए – ढुक्क हुनुस् आज राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट भएको छैन।

तर, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको भेट भइसकेको मिडियाहरुमा समाचार आएपछि यसबारे पुनः पुष्टिका लागि राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडाललाई फोन गरेँ। चुडाल ३ बजे नै बिदा भई निस्केका रहेछन्।

चुडालले राष्ट्रपति र प्रधानमन्त्रीको भेटको कुनै कार्यक्रम नरहेको जानकारी दिए। र, आफू निस्कदाँसम्म भेट नभएको जानकारी दिए। तर यतिखेर भेट भएको खबर मिडियामा सनसनी फैलिसकेको थियो।

राष्ट्रपति कार्यालयका जनसम्पर्क अधिकृत हीरामणि आचार्यलाई सम्पर्क गर्दा उनले केही प्रस्ट्याए। 

राष्ट्रपतिसँग भेट्नका लागि दिउँसो ३ बजेको समय लिएको भए पनि प्रधानमन्त्रीले आउन नसकेको जानकारी दिँदै साँझको लागि समय मागेको जानकारी आचार्यले दिए। आचार्यले भने – तीन बजेको लागि समय माग्नुभएको थियो। तर पछि बेलुकाका लागि समय माग्नुभएको छ।
कति बजेका लागि समय मागेको भन्ने यकिन नभएको उनको भनाई थियो। 

प्रधानमन्त्री कार्यालय बालुवाटारमा एकाएक मन्त्रिपरिषद बैठक बस्यो। राष्ट्रपतिसँग समय लिएर पनि नगएका प्रधानमन्त्रीले अप्रत्यासित मन्त्रिपरिषद् डाकेका थिए। मुख्य एजेन्डा थिए – राष्ट्रिय सभा निर्वाचनको मिति तय गर्नु, प्रदेश प्रमुख तोक्न र प्रदेश मुकाम तोक्न।

सवा पाँचमा मन्त्रिपरिषद्को बैठक सकियो। बैठक सकिनसाथ अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाए। माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुनेछ।

प्रदेश प्रमुख र प्रदेश मुकामबारे निर्णय अर्को बैठकमा हुने भन्दै उनी सञ्चारकर्मीबाट बिदा भए।

त्यसलगत्तै प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आजका लागि तय गरिएको राष्ट्रपतिसँगको भेट रद्द भएको जानकारी दिए।
किन त? यसको कारण त उनले खुलाएनन्।

नेकपा एमालेका नेताहरुले छिटो राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने दवाव दिइरहेका छन्। राष्ट्रपति भण्डारी पनि सरकारले जतिसक्दो छिटो चुनाव सकोस् भन्नेमै छिन्। तर, निर्वाचन आयोग र प्रधानमन्त्री पूर्व तय समयभन्दा अगाडि सर्ने मुडमा छैनन्। सायद यसैले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट्ने कार्यक्रम स्थगित भयो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell