PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नवौँ सिमरा गोल्डकप माघ २५ बाट हुने



राधेश्याम पटेल

नवौँ सिमरा गोल्डकप माघ २५ बाट हुने

वीरगन्ज : नवौँ संस्करणको रुस्लान सिमरा गोल्डकप आगामी माघको अन्तिम सातादेखि हुने भएको छ। आयोजक नव-जनजागृती युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै माघ २५ देखि फागुन ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो।

बाराको सिमरा रंगशालमा हुने प्रतियोगितामा ए डिभिजन लिग खेल्ने क्लबहरुसँगै १० टिमको सहभागिता हुने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले बताए। उनका अनुसार साविक विजेता सिमएमजी संकटा, मनाङ मर्स्याङदी क्लब, थ्री स्टार क्लब, जावालाखेल युथ क्लब, विभागीय क्लबद्वय सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी, वीरगन्ज युनाइटेड, पोखराको साहरा क्लब, रुपन्देही-११, हेटौँडा-११, झापा-११ र आयोजक नवजनजागृती मध्ये १० टिमले प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार तथा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरबाइक हात पार्नेछन्। यसैगरी विधागत रुपमा उत्कृष्ट हुने गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच र ह्याइएस्ट गोलस्कोरले समान १५ हजार प्राप्त गर्नेछन्।

विजय डिस्ट्रीलरी नवलपरासीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा यस पटक ७५ लाख ९८ हजार खर्च हुने आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए। गत वर्ष ६८ लाख ३३ हजार खर्च भएको थियो।

प्रतियोगिताको लागि सिमरा मैदानमा तयारी भइरहेको र दर्शक बस्नको लागि प्यारापिट निर्माण भइरहेको क्लबका सचिव शम्भु सिंह ठकुरीले बताए। ४ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनाइने ठकुरीले जनाए। प्याराफिट निर्माणपछि कूल १४ हजार दर्शकले खेल हेर्न सक्नेछन्।

यसपटक खेल हेर्नका लागि सय र ५० रुपैयाँको टिक राखिएको छ। सिमरा रंगशालामा फुटबल हेर्नका लागि छिमेकी जिल्लासहित भारतको विहारबाट समेत दर्शकहरु आउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell