- सीताराम अधिकारी
मलेखु : घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन्।
चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु टिपेर पकाउनुपर्ने भएकाले गाउँवासी खान नपाएर भोकभोकै परेको गाउँ पुगेको सरकारी टोलीले समेत निरीक्षण गरेको छ।
२२ वर्षकी सुक्रिमाया चेपाङको काखमा ३ सन्तान छन्। एउटा सानो बच्चा १७ महिनाको भयो। अर्को बच्चा पाउने बेला भएको छ। सानो नानी बोकेर घाँस दाउरा गर्नु, कन्दमूल खोज्नु र सिस्नु टिपेर गुजारा गर्नु उनको नियमित दिनचर्या भएको छ। आठ महिनाको गभर्वती पोषिलो खानेकुरा खानुपर्छ आइरन चक्की नियमित खानुपर्छ। भारी बोक्नु हुन्न। धेरै हिँड्नु हुन्न। गर्भावस्थामा चार पटक स्वास्थ्य चौकी गएर स्वास्थ्य जाँच गराउनु पर्छ। आम नेपालीलाई स्वास्थ्यकर्मीले भन्दै आएका छन् तर ब्रुसबाङका महिलालाई यो कुरा एकादेशको कथा जस्तै छ।
सिस्नुको खोले नभए त मरिन्छ नि। गाउँमै खानेकुरा छैन। तर गाउँभरिमा यस्ता तीन जना महिला गभर्वती छन्। सुक्रिमायाले यी बताउँदा गम्भीर देखिइन्। घरमा दुई डोको जति मकै छ। खोरियामा मकै पाक्न १० महिना लाग्छ। गाउँमा स्वास्थ्य चौकी नभएकाले गाउँबाट कोही पनि गभर्वती भए पछि जाँच गराउन जाँदैनन्। स्वास्थ्य चौकी गइहाले पनि औषधि किनेर खानुपर्ने भन्ने सुनेकाले स्वास्थ्य चौकी नगएको उनीहरुको भनाइ छ।
सुक्रिमाया मात्र होइन ब्रुसबाङका सबैको घरमा खानेकुरा छैन। खोले खानु पर्छ सिस्नुको। शहरमा बस्नेका लागि त एक दिन सिस्नु खाँदा रमाइलो लाग्छ तर सँधै खोले खाएर तागत नै नआउने र बिरामी भएको जस्तो हुने गरेको प्रेममाया चेपाङले गुनासो गरे।
धादिङ र चितवनको सीमा क्षेत्रमा रहेको ब्रुसबाङ महाभारत श्रृंखलाको एउटा चुचुरो डाँडामा रहेकाले यो गाउँ सबै किसिमको सुविधा र अवसरबाट वञ्चित रहेको यहाँका वृद्ध ७८ वर्षीय टेकबहादुर चेपाङको भनाइ छ।
खानेपानीको समस्याले गाउँवासीले नुहाउन नपाएको त कति भएको छ कसैलाई जानकारी छैन। पानी खानका लागि समेत दुई घण्टा टाढा चितवनतर्फ पुगेर एक भाडो पानी ल्याउँदा दिन सकिन्छ। कुवाको पानी ल्याएर एक भाडोले तीन-चार दिनसम्मलाई पुर्याउनुपर्ने बाध्यता रहेकाले बस्ती पानी खान नपाएर भौतारिएको (काकाकूल जस्तो) भएको छ।
दुई दिनअघि गाउँ पुगेको सरकारी टोलीमा जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी नायब उपरीक्षक रामबहादुर केसीलगायतले गाउँवासीको समस्या दर्दनाक र पीडादायक भएको जिल्ला सदरमुकाम फर्केपछि बताए।
सरकारले धादिङमा जिल्ला विकास समितिमार्फत २०३६ सालदेखि चेपाङ विकास कार्यक्रम सञ्चालन गरेको थियो तर ब्रुसबाङमा यो कार्यक्रमको कुनै प्रभाव नपरेको गाउँ पुगेको सरकारी टोलीका नेता जगन्नाथ नेपालको भनाइ छ। सरकारले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमको पनि कुनै प्रभाव देखिएको छैन। विभिन्न संघसंस्थाले गरेको भनेको कार्यक्रम त गाउँसम्म नै नपुगी फकिने गरेको गाउँवासीको गुनासो छ।
डाँडाको चुचुरोमा गाउँ रहेको र जताबाट गए पनि लामो उकालो हिँडेर जानुपर्ने भएपछि इतिहासमै पहिलो पटक सरकारी टोली गाउँमा पुगेको र गाउँवासीको समस्या समाधानका लागि पहल शुरु भएको खाद्य अधिकारका लागि कार्यरत फियान नेपालका राजेन्द्र बस्नेतको भनाइ छ।
गाउँमा पुगेको सरकारी टोलीसमक्ष गाउँवासीले खानेपानी, शिक्षा, खाद्य अधिकार, स्वास्थ्यलगायतको विषय उठाएका थिए। एकएक गरेर चेपाङ महिलाले आफ्नो कुरासमेत राखेका थिए।
दश महिनामा खोरियाको मकै पाक्छ। यो मकैले गाउँमा सबैको तीन महिनाभन्दा बढीलाई खान पुग्दैन। विद्यालय छैन त्यसैले प्राथमिक तह उत्तीर्ण गरेका मानिस गाउँमा कोही छैन। समस्या नै समस्या भएकाले गाउँवासीका लागि काम गरिदिनका लागि सूर्यमाया चेपाङले कुरा राखेपछि सरकारी टोली नै गम्भीर भएको थियो।
ब्रुसबाङ गाउँलाई स्थानान्तरण गर्न आह्वान भएपछि गाउँभन्दा तल्लो भागमा आफूहरुलाई सारेर राख्न र विद्यालय, स्वास्थ्यचौकी, बिजुली, पानीसमेत हुने गरी मिलाउन पूर्व वडाध्यक्षसमेत रहनुभएका टेकबहादुर चेपाङले गाउँवासीको तर्फबाट आग्रह गरे। गाउँ पाखो जग्गा चेपाङकै हुने गरी साविकको महादेवस्थान गाविसको ताल्ती क्षेत्रमा बस्ने गाउँवासीको सामूहिक माग गरेपछि बस्ती सार्न पहल शुरु भएको र आफूले ब्रुसबाङका चेपाङको पक्षमा काम गर्ने जिल्ला समन्वय समितिका संयोजक नेपालले बताए। बस्ती सार्न आफूहरु तयार रहेको गाउँवासीले सहमति जनाएका छन्।
गाउँ स्थानान्तरण गरेपछि विभिन्न निकायको सहकार्यमा घर निर्माण गरी हस्तान्तरण गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतको आधारभूत आवश्यकता पूरा गर्ने, सीप सिकाइ उनीहरुलाई आत्मनिर्भर बनाउन लागि पर्ने जिससका संयोजक नेपालको भनाइ छ।