PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तराईमा चिसो बढ्यो, एक साताका लागि विद्यालय बन्द



राधेश्याम पटेल

तराईमा चिसो बढ्यो, एक साताका लागि विद्यालय बन्द

वीरगंज : मध्य तराईको पर्सा–बारा–रौतहटमा अत्यधिक चिसो बढेका कारण सबै क्षेत्रको जनजीवन प्रभावित भएको छ।

चिसो मौसममा सुधार नहुँदा शिक्षण–सिकाईको लागि प्रतिकूल मौसम भन्दै पर्सा–बारा–रौतहटका जिल्ला शिक्षा कार्यालयहरुले आइतवारदेखि बुधवारसम्म पुनः जाडो बिदा बढाएका छन्। तसर्थ सरकारी तथा बोर्डिग स्कूलहरु बुधवार सम्म ‌औपचारिक रुपमा बन्द गरिएको छ।

पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले सूचना जारी गर्दै आइतवार २३ गतेदेखि २६ गते बुधवारसम्म जाडो बिदा दिएको जानकारी गराएका छन् भने २७ गते बिहीवार पृथ्वी जयन्ती र २८ गते शुक्रवार पर्ने भएकोले सरकारी तथा नीजि विद्यालय आगामी साताको आइतवारदेखि मात्र सञ्चालनमा आउने अनुमान छ।

त्यसैगरी बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले पनि बुधवारसम्म जाडो बिदा दिएको सूचना प्रकाशित गरेका छन्। अघि जिल्ला शिक्षा कार्यालय रौतहटले पनि चिसो बढेको कारण जाडो बिदा दिई सकेको छ।

हिजो शनिवार वीरगंजको अधिकतम तापक्रम ११ र न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित जल तथा मौसम हावापानी केन्द्रका अवजर्भर शिवनन्दन यादवले बताएका थिए। विगत १ सातादेखि लगातार तापक्रममा गिरावट भएको उनले बताए।

शीतलहर चल्नु र अत्यधिक चिसो बढ्नुको मुख्य कारण हावामा पानीको मात्रा शत् प्रतिशत रहेको मापन गरिएको छ।

चिसोले गर्दा बालबालिका, वृद्धवृद्धा, ठेला, मजदुरी, विपन्न तथा दैनिक ज्यालादी मजदुरलाई बढि सताएको छ। त्यसैगरी सवारी चालकको ढुवानी सेवा तथा विमान सेवा पनि प्रभावित भएको छ।

एक सातादेखि बढेको चिसोले बालबालिकामा लाग्ने रूघाखोकि, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतको समस्या भएका बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको आशाराम हस्पिटलका बालरोग विशेषज्ञ डा. अशोक दासले बताए।

अहिले दिनमा ६० भन्दा बढी बिरामीहरू चेकजाँचको लागि आउने गरेको बताए। जुन एक हप्ता अगाडि दैनिक ३०–४० जना बिरामीहरू चिसोबाट प्रभावित भएर आउँन्थे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell