
एक सातामै स्याटेलाइट शहरको डिपिआरका लागि परामर्शदाता छनौंट, तत्कालै काम थालिने
काठमाडौं : उपत्यका विकास प्राधिकरणले स्याटेलाइट शहर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन एक साताभित्र परामर्शदाता छनौट गर्ने भएको छ।
प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीका अनुसार भक्तपुरमा बन्न लागेको 'काठमाडौ आग्नेय' र ललितपुरमा बन्न लागेको 'काठमाडौं नैऋत्य' दुर्इ स्याटेलाइट शहरका लागि एक सातामा परामर्शदाता कम्पनी छनोट गरिनेछ। यी १०/१० हजार रोपनी क्षेत्रफलमा बन्न लागेका शहर हुन्।
उनका अनुसार प्राधिकरणले गरेको ग्लोबल टेण्डरमा आवेदन दिएका कम्पनीको सर्ट लिस्ट गरेको छ। ती सर्ट लिस्टमा परेका कम्पनीसँग आर्थिक र प्राविधि प्रस्ताव माग गरिएको थियो।सर्ट लिस्टमा परेकामध्ये उत्कृष्ट दुर्इ कम्पनीसँग सम्झौता गर्न लागिएको हो।
प्राविधिक क्षमता,वित्तीय प्रस्ताव, काम गरेको अनुभव लगायतका आधारमा सर्ट लिस्ट गरिएको प्राधिकरणले जनाएको छ। कम्पनी छनोट भएपछि डीपीआर तत्काल अघि बढाइनेछ। डीपीआर निर्माणका लागि छनोट हुने कम्पनीले १० हजार रोपनी शहरका लागि १५ महिनामा र १ लाख रोपनीमा बन्ने शहरका लागि १८ महिनामा डीपीआर तयार पार्ने छ।
त्यसपछि शहरको बाँकी काम अघि बढ्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले एक लाख रोपनीमा क्षेत्रफलमा बन्न लागेको सबैभन्दा बढी क्षेत्रफल भएको 'काठमाडौं इशान' र अर्को १० हजार रोपनीको 'काठमाडौ उत्तर'को पनि परामर्शदाता कम्पनीले पेश गरेको प्राविधिक तथा बित्तीय प्रस्ताव मूल्यांङकन अन्तिम चरणमा पुर्याएको जनाएको छ।
यो दुर्इ शहरको पनि परामर्शदाता कम्पनी यही पुसभित्र छनोट भइसक्ने प्राधिकरणको दाबी छ। उपत्यका विकास प्राधिकरणले स्याटेलाइट शहर निर्माण गर्न लागेको १ लाख ३० हजार रोपनी क्षेत्रफलमा ३ वर्षका लागि विशेष अवस्था बाहेक जग्गा कित्ताकाट र भौतिक संरचनामा परिवर्तनमा रोक लागएको छ। भूकम्प पीडितलार्इ घर बनाउन, मोहियानी जग्गा बाडफाँट, अंशवण्डा, यसअघि नै अदालतमा मुद्धा परेका जग्गामा भने कित्ताकाँट स्थानीय सरकारको सिफारिस गर्न सकिने व्यवस्था छ।
तर, जग्गा कित्ताकाँट गर्दा दुवैतर्फ ८/८ आना हुनै पर्ने प्राधिकरणले जनाएको छ। उपत्यकामा बन्ने चार नयाँ स्याटेलाइट शहरमा सबै खालका व्यवस्थित शहरी पूर्वाधार हुने तिवारीले जानकारी दिए। विद्यालय, हस्पिटल, बैक तथा बित्तीय संस्था, बजार लगायत सबै सुविधा शहरभित्रै उपलब्ध हुनेछन्।