काठमाडौं : राखेप च्याम्पियनसिप अन्तर्गत यही पुस २६ देखि २९ गतेसम्म हुने ३९औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितालाई हुवावेले साथ दिने भएको छ।
प्रतियोगिताको लागि राखेपले नगद १० लाख उपलब्ध गराएपनि अपुग रकमका लागि हुवावेसँग सम्झौता गरेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए।
आइतबार संघले हुवावेका कन्ट्री डिरेक्टर जोएस झु सँग प्रतियोगिताको मुख्य प्रायोजक रहनेगरी सम्झौता गरेको छ। सम्झौतामा संघका अध्यक्ष वैद्य र जोएसँगै हुवावेको नेपाल आधिकारिक बिक्रेता पुलिकत भिमसिरयाले संयुक्त रुपमा हस्ताक्षर गरे।
उक्त सम्झौतापछि हुवेवेले प्रतियोगिता सञ्चालन गर्न नगद ५ लाख रुपैयाँ दिने अध्यक्ष वैद्यले बताए। 'हाम्रो अनुमानित बजेट २२ लाख जती छ राखेपले १० लाख उपलब्ध गराएको छ। त्यसैले अपुग रकमका लागि हुवावेसँग सहकार्य गरेका हौँ।' वैद्यले भने। उनले अझै केही रकम संघले आफै व्यहोर्नुपर्ने समेत बताए।
४५ टिमको सहभागिता हुने
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चार दिनसम्म चल्ने प्रतियोगितामा तीन विभागीयसहित जिल्लाका टिमहरु गरेर कूल ४५ टोलीको सहभागिता हुने संघका अध्यक्ष वैद्यले जानकारी दिए।
उनका अनुसार यसपटक जिल्ला स्तरिय छनोटबाट छानिएका खेलाडीहरु जिल्लाको टिमबाट सहभागि हुनेछन्। एक टिमबाट बढीमा ५/५ र पुरुष तथा कम्तीमा ३/३ महिला र पुरुष खेलाडीले भाग लिनेछन्।
यस्तै अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा कूल ७ इभेन्टसमा प्रतिस्पर्धा हुनेछ।
यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको क्याम्पका लागि खेलाडी छनोट गरिने संघका महासचिव तथा प्रतियोगिताका संयोजक शंकर गौतमले जानकारी दिए। महिला र पुरुष दुवै विधाको प्रिक्वाटरफाइनलमा पुग्ने १६/१६ खेलाडीको नाम राखेपमा बुझाउने उनले बताए।