PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

दाङमा विमान उतारेपछि दङ्ग मेयर पाण्डे, पूरा गरे चुनावी प्रतिवद्धता



नेत्र तामाङ

दाङमा विमान उतारेपछि दङ्ग मेयर पाण्डे, पूरा गरे चुनावी प्रतिवद्धता

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले निर्वाचन पूर्व जनतासामु भनेका थिए – 'टरिगाउँ एअरपोर्टमा विमान अवतरण गराएरै छाड्छु। नियमित उडान गराउँछु।'

स्थानीय निकायको निर्वाचनमा मेयरमा निर्वाचित भए पाण्डे। 

दुई वर्षअघिबाट उडान बन्द भएपछि यस विमानस्थलको भविष्य अन्योलमा परेको थियो।

विमानस्थलको भविष्यमात्र अन्योलमा परेन, यसले स्थानीयलगायत यहाँका ७ जिल्लावासीको यात्रा आवगमन समेत असर पार्यो।

हतारमा काठमाडौं पुग्नुपरे बसकै भरमा पर्नुपर्ने जनता विमानस्थल सञ्चालनको आशामा थिए। जनताको आशालाई नै ध्यानमा राखेर मेयर पाण्डेले विमानस्थल सञ्चालन अभियानको काम शुरु गरे।

बीचमा स्थानीयले मेयरलाई सोध्थे -  दाङमा जहाज कहिले आउँछ ? 

त्यही प्रश्नको उत्तर कामबाटै दिएका छन् पाण्डेले।

झन्डै ६ महिनाको प्रयास र सरोकारवालाहरुको सकरात्मक सहयोगले उपमहानगरपालिकाको योजना पूरा भएको मेयर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए।

'विमानस्थल सञ्चालनका लागि उपमहानगरपालिकाले विभिन्न सरोकारवालाहरुसँग पटक पटक संवाद गरेपछि टरिगाउँमा विमान उत्रिएको हो, हामीले ६ महिनाअघिबाट यो अभियान थालेका थियौं,' उनले भने।

नेपाल नागरिक उड्ययन, नेपाल एअरलायन्स, समिट एअर, उद्योग वाणिज्य संघ दाङ तथा जिल्लाका सुरक्षा निकायलगायतले साथ दिएपछि छोटो समयमै विमान उडान सम्भव भएको मेयर पाण्डेको भनाइ थियो।

यसका लागि काठमाडौंमा पटकपटक धाउनुपरेको उनले बताए। यद्यपि, आफ्नै नगर र स्थानीयको सपना पूरा गर्न पाउँदा निकै सन्तुष्ट थिए पाण्डे।

आइतबार सम्पूर्ण तयारी पूरा भएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार मेयर पाण्डेसहित चढेको विमान काठमाडौंबाट ११:३० बजे तुलसीपुरका लागि उड्यो।

मेयर पाण्डेका साथमा थिए माओवादी नेता एवं दाङ २ का प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा, दाङ ३ का प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी र सल्यानका प्रदेश सभा सदस्य प्रकाश ज्वाला।

टरिगाउँ विमानस्थलमा विमान अवतरण भयो।

विमान पुग्नासाथ स्थानीय खुशी हुँदै पञ्चे बाजासहित नाचगान गर्न थाले।

अतिथिलाई स्वागत गर्न फूलमासहित लामवद्ध थिए, स्थानीय। स्थानीयले मेयर पाण्डेसहित महरा, ज्वाला र केसीलगायतलाई फूलमालाले स्वागत गरे। 

विमान सेवाका लागि नेपालगन्ज र भैरहवा विमानस्थल धाउँदै आएका स्थानीय निकै खुशी देखिएका थिए।

२०१७ सालबाट उडान सुरु भएको विमानस्थलमा उडान सुरु हुँदै बन्द हुँदै गरेको चारपटक भइसकेको छ। यो टरिगाउँ विमानस्थलको पाँचौ पटकको उडान यात्रा हो। विमान उडानको विगतलाई हेर्दा पाँचौ पटकको उडान पनि निरन्तर हुन्छ भन्ने आधार देखिएन नि?

जवाफमा मेयर पाण्डेले भने, 'अब नियमित हुन्छ। हामी दैनिक एउटा उडान भर्ने तयारीमा छौं। बन्द हुने कुरा अब इतिहासमा सीमित हुनेछ।'
आजबाट समिट एअरलायन्सले प्रत्येक आइतबार उडान भर्ने र हप्तामा दुई दिन उडान हुने उनले बताए। 'आइतबार उडान हुने फिक्स भइसक्यो। अर्को दिन चाहि बुधबार कि शुक्रबार भन्ने भोलि नै सेड्युल बन्छ,' पाण्डेले भने। हरेक उडान काठमाडौंबाट साढे ११ मा र दाङबाट साढे एकमा हुने उनले जानकारी दिए।

उडान थोरै हुँदा यात्रु आकर्षित होलान त?

मेयर पाण्डेले भने, 'यात्रुको चाप त अहिलेबाट नै बढ्ने देखिएको छ। त्यसैले हामीले दुई महिनापछि नै नेपाल एअरलायन्सको विमान पनि थप्ने तयारीमा लाग्दैछौं। त्यसपछि दैनिक उडान हुनेछ।'

नियमित उडान हुँदा यात्रुको चाप बढ्ने आधार के त?

ढुक्क हुँदै पाण्डेले भने, 'दाङ पर्यटकीय क्षेत्रबाट नजिक छ। स्वर्गद्वारी, गुरिल्ला ट्रेकिङलगायतका आकर्षक पर्यटकीय क्षेत्र यहाँ छन्। ठूला उद्योगहरु छन्। विश्वविद्यालय छन्। प्रदेशको राजधानी हुने सम्भावना उत्तिकै छ। त्यसैले यात्रुको चाप अत्याधिक हुनेछ।'
यस भेगका आर्थिक अवस्था सुधार्न पनि नियमित उडान आवश्यक रहेको उनको भनाइ रहेको छ।

'विमान नियमित सञ्चालन हुन थालेपछि दाङमात्र हैन रोल्पा, रुकुम, सल्यान, प्युठान, जाजरकोट, र सूर्खेतको पश्चिम बेल्टका जनता लाभन्वित हुनेछन्,' मेयर पाण्डेले भने, 'त्यसैले यस भेगका जनताका लागि विमान उडान आर्थिक उन्नतिको मुख्य आधार पनि हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell