
काठमाडौं : राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ व्यक्तिगत ७० मिटरमा पुरुषतर्फ मिन गौचन र महिलातर्फ आईषा तामाङले आईतबार उपाधी जितेका छन्।
थासाङ स्पोर्टस् क्लबका गौचनले स्वयंभु आर्चरी क्लबका प्रेम प्रसाद पुनलाई फाईनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे। कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक पाए।
महिलातर्फ सेनाकी आईषाले आफ्नै दिदी सेनकी ज्ञानु अवालेलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन्। कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षेत्री तेस्रो भइन्।
दशरथ रङ्गशालामा भएको च्याम्पियनसिपको कम्पाउण्ड ५० मिटर व्यक्तिगत पुरुषतर्फको प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले वेष्ट आर्चरी क्लबका प्रजित अग्रवाललाई हराउँदै स्वर्ण जिते। सनातनले १४० अंक प्राप्त गर्दा प्रजितले ११९ अंक प्राप्त गरे।
यस्तै पुरुष स्ट्याण्डर्ड बक्तिगत ३० मिटरतर्फको प्रतिस्पर्धामा स्वयंभु आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे। उनले बेष्ट अफ फाईभको गेममा ६ अंक बटुले। दोश्रो स्थानमा रहेका वेष्ट आर्चरीका नविन विर बस्न्याटले रजत पदक पाए। उनले ४ अंक जोडे। नेपाली सेनाका डम्बर थापाले कास्य पाए।
सोही विधाको महिलातर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आले मगरले नेपाली सेनाकी मित्रा राईलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारिन्। तेश्रो स्थानमा अन्नपूर्ण आर्चरी क्लबकी रोजीना थापामगर रहिन्।
पुरुष स्ट्याण्डर्ड ३० मिटर टिमतर्फको प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण जित्यो। सेनालाई स्वर्ण दिलाउन डम्बर थापा, तविन गुरुङ र प्रेम वि.क.को टिमले ५ अंकको योगदान गरेका थिए। रजत पदकमा सिमित भएको वेष्ट आर्चरी क्लबका नविन विर बस्न्यात, जोर्डन विक्रम थापा र ग्रिष्मा गुरुङ्गको टोलीले एक अंक मात्र हासिल गर्दै दोश्रो स्थानमा चित्त बुझायो। अन्नपूर्ण आर्चरी क्लबका करुण बराल, शंकर थकाली र हिम कुमार रानामगरको टोलीले कास्य पायो।
दुई दिने च्याम्पियनसिपमा ७८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए।