PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

फिल्म मधेशपुत्र २ र सेन्सर बोर्डबीच केको लफडा?



पहिलोपोस्ट

काठमाडौं: फिल्म 'मधेस पुत्र २' सेन्सर पास भैसकेको छ। फिल्मले पिजी सर्टिफिकेट पाएको बारे बोर्ड सदस्य एवं फिल्मकर्मी बिमला केसीले प्रष्ट पारिन्। तर सर्टिफिकेट फिल्म युनिटले लगेको भने छैन। केसीका अनुसार सेन्सर बोर्डले मधेसी फिल्ममाथि भेदभाव गरेको र अनावश्यक संवाद हटाउन निर्देशन दिएको भन्दै निर्माता कम्पनी अनुराग फिल्‍मस सर्टिफिकेट लिन नआएको हो।

पुस ६ गते नै ब्लर गराउनु पर्ने दृश्य, हटाउनु पर्ने संवादहरु र सिके राउत पात्रको भूमिका नराख्न निर्देशन सहित निवेदन दिएको थियो।



तर फिल्म युनिटलाई बोर्डको निर्णय स्विकार्य भएन। बिमला भन्छिन्,'कानुन र नियमभन्दा माथि कोही पनि हुन सक्दैन। हामी पनि यही क्षेत्रमा काम गरेर निखारिएर बोर्डमा पुगेका हौं। फिल्मकर्मीको मर्का बुझ्छौं। तर त्यसो भन्दैमा हामीले नियम पालना नगर्न मिल्दैन।' मधेसलाई नेपालबाट अलग्याउनु पर्छ भन्दै आन्दोलन चर्काउने 'सिके राउत' फिल्ममा देखाएको र उक्त पात्र हटाउन निर्देशन दिएको केसीले बताइन्। भनिन्,'फिल्म कला हो। यसले कुनै पनि जात, धर्म, समुदाय वा क्षेत्रलाई असर गर्ने हिसाबले वकालत गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।'

निर्माण कम्पनीलाई सिके राउतको चरित्र चित्रण गर्न नदिनु स्विकार्य नभएको हो। जुन निर्णयका कारण मधेसका केही क्षेत्रमा सेन्सर बोर्ड विरुद्ध प्रदर्शन समेत गरे।



निर्देशक तथा लेखक निराजन मेहेताले फिल्मको पात्रको नाम मात्र सिके राउत राखिएको दाबी गर्दै आएका छन्। उनले वास्तविक राजनीतिक विश्लेषकको जीवन र कथामा फिल्म आधारित नभएको समेत प्रष्ट पारे। फिल्मलाई रवि कोइरालाले खिचेका हुन्। राजनीतिक र सामाजिक विषय उठान गरेको फिल्मलाई उदित नारायण शाहले निर्माण गरेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell