PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

इन्द्र र मनीता उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

इन्द्र र मनीता उत्कृष्ट खेलाडी

काठमाडौं : बन्दी सहायता नियोग (पाम) का इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधान राखेप च्याम्पियनसिपअन्तर्गत १५औं राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिताको पहिलो दिन शनिबार इन्द्रले पुरुष ६६ केजीमुनि र मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए।

प्रतियोगिताको अन्तिम दिन पुरुष ६० केजीमा पामका रोशनबहादुर दोङले कर्मा लामा, ७३ केजीमुनि नेपाल प्रहरीका सन्जित डंगोलले आर्मीका जंगबहादुर सारु, ९० केजीमा प्रहरीका श्रीराम मकाजुले आर्मीका रमेश चन्द तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले कञ्चनपुरका आशिष ओझालाई पराजित गर्दै स्वर्ण जिते।

महिलाको ५२ केजीमुनि एपीएफकी देविका खड्काले प्रिमियर जुडो डोजोकी अन्जु पाण्डे, ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्रीले आर्मीकै निर्मला घर्ती मगर तथा ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठले प्रहरीकी भावना घर्ती मगरलाई हराउदै पहिलो भए।

दुईदिने प्रतियोगितामा विभिन्न १३ जिल्ला र ९ क्लबका ८७ पुरुष र ४८ महिलासहित १ सय ३५ खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

रकम वितरण

यसैबीच समापनका अवसरमा एचके नेप, हङकङले विभिन्न प्रयोजनका लागि उपलब्ध गराएको रकम पनि वितरण गरिएको छ। एचके नेपले जुडो विकासका लागि नेपाल जुडो संघलाई ६१ हजार ६० रुपैयाँ उपलब्ध गरायो। छैटौं डान प्राप्त गर्न सफल खड्गबहादुर दाहाललाई १० हजार, एसियाली जुडो च्याम्पियनसिपमा १ बाउट जित्न सफल मनीता श्रेष्ठ प्रधानलाई २० हजार तथा जुडो खेलाडी रमेश मगरको खुट्टाको उपचारका लागि १० हजार नगद प्रदान गरिएको थियो।

त्यस्तै नेपाल जुडो संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतबाट संकलित ७४ हजार १ सय रुपैयाँ पनि छैटौं डान प्राप्त गरेका दाहाललाई सोही अवसर वितरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell