
पाँचौ तथा अन्तिम टेष्टमा इंगल्याण्डलाई १ इनिङ्स र १२३ रनले पराजित गर्दै घरेलु टोली अष्रट्रेलियाले एसेस सिरिज ४-० ले जितेको छ। सुरुका तीन टेष्टमै जित हात पार्दै सिरिज आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलियाले चौथो टेष्ट बराबरी खेलेको थियो।
पहिलो इनिङ्समै ३०३ रनले पछि परेको इंङल्याण्डले इनिङ्स अन्तरको हार टार्न दोस्रो इनिङ्सका त्यति नै रन बनाउनुपर्ने थियो। तर इंगल्याण्डले दोस्रो इनिङ्समा १८० रन मात्र बनाउन सकेपछि घरेलु टोलीले फराकिलो जित हात पारेको हो। उस्मान खवाजा, सन मार्स र मिचेल मार्सले शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो इनिङ्समै ६४९ रन बनाएको थियो।
सिड्नीङ्गा इंगल्याण्डले ९३/४ बाट अन्तिम दिनको खेल सुरु गरेको थियो। तर अष्ट्रेलियाका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि इंगल्याण्डले थप ८७ रन जोड्ने क्रममा बाँकी ६ विकेट गुमायो। कप्तान जो रुट ५८ रनमा रिटायर्ड हर्ट भए। जोनी ब्रेस्ट्वले ३८ रन जोडे। अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।
अन्तिम दिन ३ विकेट लिएका प्याट कमिङ्सले कूल ४ विकेट लिए। यस्तै नाथल लियनले ३ विकेट लिए। पअिलो इनिङ्समा पनि ४ विकेट लिएका कमिङ्स म्यान अफ दी म्याच घोषित भए।
सिरिजमा ३ शतकसिहत कूल ६८७ रन बनाएका अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ प्लेअर अफ दि सिरिज घोषित भए।
सिरिज ४-० ले जितेपछि अष्ट्रेलिया टेष्ट वरियतामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ भने तेस्रो स्थानको इंगल्याण्ड पाँचौमा झरेको छ।
सिरिजअघि अष्ट्रेलिया ९७ अंकसहित पाँचौ स्थानमा थियो। ४-० ले सिरिज आफ्नो पक्षमा पारेपछि अष्ट्रेलिया कूल १०४ अंक जोड्दै तेस्रो स्थानमा पुगेको हो। भारत १२४ अंकका साथ पहिलो तथा १११ अंक रहेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ।