.png)
काठमाडौं : योगी आदित्यनाथले ट्विट गरेपछि मात्र सार्वजनिक भयो – आराम गर्न नेपालगञ्ज गएका पूर्व राजा ज्ञानेन्द्र शाह लखनउ शहर पुगेका रहेछन्। कुनै समय भारतका सम्पन्न वादशाहहरुको देश लखनउमा ज्ञानेन्द्रको यात्रा राजाको हैसियतमा थिएन। र, आदित्यनाथले प्रयोग गरेको भाषाले प्रस्ट भनेको छ – पूर्व राजा ज्ञानेन्द्र मलाई भेट्न मेरै कार्यालयमा आए – "आज लखनऊ स्थित सरकारी आवास पर नेपाल के पूर्व नरेश श्री ज्ञानेंद्र वीर विक्रम शाह जी ने भेंट की…।"
ज्ञानेन्द्र शाह र योगीबीच कनेक्सन
नेपालमा राजतन्त्रको इतिहास बोकेको शाह वंशले पूजा गर्ने गुरु हुन् गोरखनाथ। उनै गोरखनाथको उत्तराधिकारी योगी आदित्यनाथ राजनीतिक रुपमा क्रियाशील हुँदै भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री छन्।संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेर गणतन्त्रमा गइसकेपछि नेपालमै आएर हिन्दु राज्य स्थापना र राजतन्त्र पुनर्स्थापनाका विषयमा भाषण दिएर विवादमा तानिएका थिए- योगी आदित्यनाथ। हिन्दु धर्मका प्रचारक हुँदै भारतको प्रधानमन्त्रीमा पुग्न सफल नरेन्द्र दामोदरदास मोदी यिनका 'ब्याकअप पावर' नै हुन्। योगीको पुरानो परिचय भने अजयसिंह विष्ट हो।
आदित्यनाथको नेपालका पूर्वराजा ज्ञानेन्द्रसँग विशेष प्रेम छ। ज्ञानेन्द्र भारत जाँदा गोरखनाथका शिष्य आदित्यनाथसँग भेट गरेर स्वदेश फर्कन्छन् अनि जब योगी आदित्यनाथ नेपाल आउँछन्, पूर्वराजा ज्ञानेन्द्रलाई नभेटी फर्कँदैनन्।
भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरका महन्त थिए- आदित्यनाथ। भारतमा भएको लोकसभा चुनावमा गोरखपुरबाटै २५ वर्षको उमेरमा सन् १९९८ मा पहिलोपटक चुनिएका उनी लगातार सांसद रहँदै आएका छन्। मुख्य पहिचान धार्मिक भए पनि राजनीतिमा उनको सक्रियता र पकड दुवै छ।
नेपालका विषयमा विवादित अभिव्यक्ति दिने आदित्यनाथ भारतमा पनि पटकपटक विवादित बयानकै कारण चर्चामा आइरहन्छन्। २००८ मा गोरखपुरमा भएको हिन्दु मुस्लिम दङ्गामा यिनको नाम मुछिएको थियो। त्यही दंगाका क्रममा उनले घोषणा गरेका थिए– 'अवसर पाएँ भने म सबै मस्जिदमा गौरी-गणेशको मूर्ति स्थापना गर्नेछु।'
धर्मनिरपेक्ष भारतमा धर्मपरिवर्तन र गोहत्या विरुद्ध आन्दोलन गर्दै आएका छन् उनी। नेपालमा भने राजतन्त्रसँग गहिरो नाता जोड्दै हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना पक्षधरका रुपमा उनको परिचय बनेको छ।
राजतन्त्रसँग जोड्ने नाता
शाहवंशीय राजतन्त्रसँग गोरखनाथको नाम सधैँ जोडिन्छ। पृथ्वीनारायण शाहले गोरखनाथको दर्शन पाएको र त्यसपछि गोरखा दरबारमा गोरखनाथको मन्दिरमा नियमित पूजा हुन थालेको भनाइ छ। यसका पुजारी 'कनफट्टा योगी' रहने परम्परा बसेको थियो। शाह वंशको कुलदेवताका रुपमा रहेका गोरखनाथ र गोरखपुरमा रहेको गोरखनाथ मन्दिरका महन्तबीच साम्प्रदायिक सम्बन्ध रहँदै आएको छ।पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा भारतीय जनता पार्टीका नेता लालकृष्ण अड्वानीको नेतृत्वले हिन्दु सम्राटका रुपमा ज्ञानेन्द्रलाई पूजा गरेर विष्णुको अवतारका रुपमा व्याख्या गरिएको थियो। यसले पनि भारतमा अतिवादी हिन्दु सधैँ नेपालको राजतन्त्रसँग जोडिने गरेको तथ्यलाई उद्घाटित गर्छ।
संविधान जारी हुनुभन्दा दुई महिनाअघि धर्मका विषयमा विवाद जारी रहँदा नेपाल आएका आदित्यनाथले त्यस बेला भने त्यति विवादित अभिव्यक्ति दिएका थिएनन्। पूर्वराजा ज्ञानेन्द्रसँग भने भलाकुसारी गरेर मात्रै उनी फर्किएका थिए।
त्यसलगत्तै संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गरिएको थियो। त्यसमा हिन्दु राज्यको पक्षधर दल राप्रपा नेपालले सुझाव संकलन कार्य अवरोधको घोषणा गर्यो। अवरोधमा उत्रियो। उसका गतिविधिमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कासहित धेरै हिन्दु संघसंस्थाहरुले घोषित अघोषित रुपमा समर्थन गरेका थिए।
अवरोध घोषणा गर्नेहरुले खासै सफलता पाएनन्। तर सुझावकर्ताहरुबाट आएका सुझावमा भने हिन्दु राज्य स्थापना प्राथमिकतामा परेको थियो। तर त्यसलाई जनमत संग्रहका रुपमा नभएर सुझावका रुपमा मात्र लिएको भन्दै प्रमुख दलहरुले थन्क्याए। त्यसैले त्यो सुझाव सुझावमा मात्र सीमित भयो।
धर्मगुरुको भूमिकाबाट यतिखेर मुख्यमन्त्रीको जिम्मेबारीमा रहेका उनले अबका दिनमा कस्तो गतिविधि गर्छन् त्यो समयले नै बताउला। र, पूर्व राजाको भ्रमणको उपादेयता पनि त्यसैमा निर्भर रहला – भ्रमण राजनीतिक थियो या तीर्थाटन?