
काठमाडौं: प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण काठमाडौंमा गराउने तयारी गरिरहेको सरकारले अन्ततः प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी भइरहेको जनाएको छ।
प्रदेशको अस्थायी राजधानीका विषयमा विवाद देखिन थालेपछि सरकारले काठमाडौंमै शपथ ग्रहण गराउने तयारी गरेको थियो।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफल पश्चात सरकारले विज्ञप्ति जारी गर्दै अस्थायी राजधानी तोक्ने तयारी भइरहेको जनाएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै अस्थायी राजधानी तोक्ने तयारी भइरहेको जनाएको छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट अस्थायी राजधानी तोकिनेछ।
विज्ञप्तिमा भनिएको छ, 'प्रदेशको कार्यसञ्लन सम्बन्धी अति जरुरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकोले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको व्यहोरा सर्वसाधारणलाई जानकारी गराइन्छ।'