
पोखरा : सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
यस वर्ष विजेता टोलीले ७ लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। गत वर्ष विजेताले ५ लाख एक हजार र उपविजेताले २ लाख ५१ हजार पाएका थिए।
यस्तै आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए।
प्रतियोगितामा भाग लिने टोलीमा मनाङ मर्स्याङ्दी, सशस्त्र प्रहरी बलको एपीएफ, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा-११, उत्तर वरिन्धारा क्लब बंगलादेश, त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, थ्री स्टार र आयोजक सहारा क्लब छन्।
यस्तै प्रतियोगिताभर टिकट काटेर खेल हेर्ने दर्शकमध्ये लक्की ड्र बाट एक भाग्यशाली दशर्कलाई एक थान स्कुटर एवं एक थान एलजि टिभी प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए।