
फुटबल बजारमा अहिले खेलाडीहरुको भाउ महँगो हुँदै गएको छ। ट्रान्सफर विन्डो खुल्ने बित्तिकै सरुवा बजारमा विभिन्न कीर्तिमान बन्न थाल्छन्। नयाँ वर्ष २०१८ सुरु भएसँगै फुटबलमा पनि ट्रान्सफर विन्डो तात्न थालिसकेको छ। यसै क्रममा बार्सिलोनाले लिभरपुलबाट फिलिप काउटिन्होलाई विश्वको दोस्रो महाँगा खेलाडीको रुपमा नोउक्याम्प भित्र्याएको छ।
विश्वका पाँच महँगा खेलाडीमध्ये ३ खेलाडी बार्सिलोनासँग सम्बन्धीत छ। विश्वकै महाँगा खेलाडीका रुपमा बार्सिलोनाले नेमारलाई बेचेको थियो भने काउटिन्हो र ओसमान डेम्बेलेलाई बार्साले भित्र्याएको हो।
विश्वका पाँच महँगा ट्रान्सफरमा अहलेका दुई चर्चत खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो भने समावेश छैनन्। काउटिन्हो दोस्रो महँगा खेलाडी बनेपछि रोनाल्डो यस सूचीमा छैटौँ स्थानमा झरेका छन्। यस्तै झण्डै डेढ दशकयता बार्सिलोनाका लागि खेलिरहेका मेसी कुनै पनि क्लबमा ट्रान्सफर भएका छैनन्।
यी हुन् विश्वका पाँच महँगा खेलाडी
१. नेमार २२२ मिलियन युरो
नेमारलाई बिहीबार पिएसजीले बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन युरोमा खरिद गरेपछि उनी महँगा खेलाडी बनेका हुन्। नोउ क्याम्पमा मेसी र सुवारेजको छायाँमा परेका नेमार अब पिएसजीका मुख्य खेलाडी बन्दैछन् र उनले त्यहाँ १० नम्वरको जर्सी समेत लगाउनेछन्।
२. फिलिप काउटिन्हो १६० मिलियन युरो
बार्सिलोनाले लिभरपुलबाट फिलिप काउटिन्होलाई १६० मिलियन युरोमा अनुबन्ध गरेको हो। बार्सिलोनाले काउटिन्होको रिलिज क्लब ४०० मिलियन युरो तोकेको छ। बार्सीलोनाले पाँच वर्षका लागि काउटिन्होसँग सम्झौता गरेको हो।
३. ओसमान डेम्बेले १०५ मिलियन युरो
स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्ध गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। पाँच वर्षको लागि नोउ क्याम्प क्लबमा खेल्ने गरी डेम्बेलेसँग ५ वर्षको लागि सम्झौता भएको हो।
४. पउल पोग्वा १०५ मिलियन युरो
पोग्वालाई सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले १०५ मिलियन युरोमा युभेन्ट्सबाट किनेको थियो।
५. गारेथ बेल १००.८ मिलियन युरो
वेल्सका गारेथ बेल सन् २०१३ मा त्यस बेलाको कीर्तिमानी १००.८ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए।