काठमाडौं : पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोलीले पहिलो खेलमै परिकलो हार ब्यहोरेको छ। पाकिस्तानमा भइरहेको प्रतियोगितामा नेपाल मंगलबारआयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।
४० ओभरको एकदिवसीय खेलमा नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
घरेलु टोली पाकिस्तानलाई लगातार दोस्रो जित दिलाउन ओपनर बदानर मुनिरले शतक प्रहार गरे। मुनिरले ५९ बल खेलेर १२६ रन जोडे। महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा नटआउट रहे।
त्यसअघि पाकिस्तानको जिन्नाह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो।
नेपालका लागि रमेश बहादुर बानियाँ र पदम बडौलाले अर्धशतक प्रहार गरे। रमेशले ७२ बल खेलेर सर्वाधिक ५९ रन बनाए भने पदमले ४३ बलमा ५० रन जोडे।
नेपालका लागि बद्री चौलागाँईले ४७ रन बनाए भने खिमानन्द गैरे ३० रनमा नटआउट रहे। नेपालले दोस्रो खेलमा भोली बंगलादेशसँग खेल्नेछ।