
काठमाडौं : १६औँ महिला राष्ट्रिय लिग फुटलबको सुपर लिग खेलमा सशस्त्र प्रहरी बलको एपीएफले त्रिभुवन आर्मीमाथि पुनरागमन जित हात पारेको छ।
अनिता केसी र अनिता बस्नेतले दोस्रो हाफमा गोल गरेपछि सुपर लिगअन्तर्गत दोस्रो खेलमा एपीएफले एक गोलले पछि परेको स्थिती उल्टाउँदै आर्मीलाई २-१ ले पराजित गरेको हो।
समूह चरणमा पनि एपीएफले आर्मीलाई हराएको थियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कप्तान कृष्णा खत्रीले १७औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएकी थिइन्। उनले एपीएफका गोलकिपर एन्जिला तुम्बाहाम्फेको गल्तीमा गोल गरेकी हुन्।
पहिलो हाफमा एक गोलले पछि परेपनि दोस्रो हाफमा एपीएफले पुनरागमन गर्दै दुई गोल पर्काए। ५०औँ मिनेटमा अनिता केसीले एपीएफका लागि बराबरी गोल फर्काइन्।
८२औँ मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाइन्। इन्जुरी टाइममा एपीएफकी मन मायाँ लिम्बु दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएकी थिइन्।
सुपर लिगमा एपीएफको लगातार दोस्रो जित हो भने आर्मीको पहिलो हार हो। एपीएफले यसअघि सुपर लिगमा सुदूर पश्चिमलाई हराएको थियो भने आर्मीले पुलिसलाई पराजित गरेको थियो।
मंगलबारै भएको पहिलो खेलमा नेपाल पुलिसले सुदूरपश्चिमलाई १-० ले पराजित गरेको छ। पुलिसका लागि रुपा मगरले ३१औँ मिनेटमा गोल गरेकी थिइन्।
दोस्रो जितपछि एपीएफले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। एपीएफले बिहीबार अन्तिम सुपर लिग खेलमा नेपाल पुलिससँग खेल्नेछ भने आर्मीले सुदूरपश्चिमसँग खेल्नेछ।