
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
अनशनमा रहेका डाक्टर केसीलाई हिजो प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्रेको थियो। आज दिनभरि सर्वोच्च अदालतमा वयानका लागि उनलाई राखिएको थियो। वयानपछि उनलाई हिरासतमा नलगी उपचारका लागि अस्पताल लगिएको हो।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी अपील बोहराका अनुसार आज उनलाई वीर अस्पतालमा नै राखिने छ।
'अदालतको आदेशानुसार नै उहाँलाई अस्पताल भर्ना गरिएको हो,' उनले भने।
सर्वोच्च अदालतको अपहेलना मुद्दामा उनलाई पक्राउ गरिएको थियो। भोलि बिहान १० बजे सर्वोच्चमा केसीविरुद्धको मुद्दामा बहस हुनेछ।