
काठमाडौं : खेलमा हार जित हुन्छ। खेलाडी पनि जित्न चाहन्छन्। विपक्षीलाई पराजित गर्दै अगाडी बढ्न चाहन्छन्। तर कहिलेकाँही परिस्थिती फरक बन्छ। कहिले स्वास्थ्यले साथ नदिदा खेल छाड्नुपर्छ। कहिले अर्काको लागि पनि खेल छाडिन्छ।
यस्तै भयो झापाको बितामोड बजारमा जारी राखेप च्याम्पियनसिअन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको चौथो दिन।
महिलातर्फ ५१ केजी तौल समूहमा सहोदर दिदी–बहिनी क्वाटरफाइनलका खेल जित्दै सेमिफाइनल पुगेका थिए। तर यी दुई एक आपसमा भिडेनन्। दाङकी बहिनी बिमला थापामगरले आर्मीकी गिताकुमारी थापामगरका लागि खेल परित्याग गरिन्। सोहि तौल समूहमा एपीएफकी माला राईले पनि फाईनलमा पुगिन्। उनले नक्सालकी रोशनी राईलाई ५–० अंकको आधारमा पराजित गरेकी थिईन्।
यस्तै चौथो दिनको खेलपछि नेपाल आर्मीका ललिता महर्जन र एपीएफकी नंग्जा बुढामगर उपाधि नजिक पुगेका छन्। महिला लाईट फ्लाईवेटको ४८ केजी तौल समूहमा ललिताले नेपाल प्रहरीकी दिवाना शेर्मालाई (३-२) अंकको आधारमा पराजित गरिन्। एपीएफकी नंग्जा बुढामगरले अर्को सेमिफाईनल खेलमा भक्तपुरकी शर्मिला लामालाई अंकको आधारमा पराजित गर्दै आर्मीकी ललितासंग भेट पक्का गरिन्।
महिला वेन्टमवेटको ५४ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठ फाइनलमा प्रवेश गरेकी छन्। विमलाले एपीएफकी माया चौधरीलाई पनि ५-० अंकका आधारमा हराइन्। सोही तौल समूहको अर्को खेलमा भक्तपुरकी निता गोसाईले मकवानपुरकी सन्जुमाया थिंगलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन्।
महिला ५७ केजी तौल समूहमा एपीएफकी सन्जु लामाले नेपाल आर्मीकी चन्द्रकला थापालाई अंककै आधारमा पराजित गरिन्। सोही समूहको अर्को खेलमा नक्सालकी कुसूम तामाङले कास्कीका कुसुम थापामगरलाई हराउँदै फाईनलमा प्रवेश गरिन्।
महिला ६० केजी तौल समूहमा एपीएफकी संगिता सुनारले आर्मीकी मिनु गुरुङलाई ३-२ ले पराजित गर्दै काठमाडौंकी मन्दिरा पुतुवारसंग फाइनल भेट पक्का गरिन्। पुतुवारले पनि कैलालीकी संजिता चौधरीलाई ३-२ अंकले हराइन्।
६४ केजी तौल समूहमा आर्मीकी पुनम राउत र एपीएफकी विनिता थापामगर फाइनलमा प्रवेश गरिन्। ६९ केजी तौल समूहमा एपीएफकी मनिता राई र नेपाल प्रहरीकी अनुराधा लामा फाइनलमा प्रवेश गरेका छन्। ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राणा र आर्मीकी सबिना श्रेष्ठ फाईनलमा प्रवेश गरेका छन्।
पुरुषतर्फ ४९ केजी तौल समूहमा सुनसरीका सुलभ राज तुलाधरले एपीएफका लक्षुमण तामाङलाई तथा आर्मीका तेज बहादुर देउवाले नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई अंकको आधारमा हराउँदै फाईनलमा स्थान पक्का गरे।
पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका विक्रम परियारले फाइनलमा स्थान सुरक्षित गर्दा ५६ केजी तौल समूहमा एपीएफका पुरन राई र विमल रोका स्वर्णका लागि भिड्ने भएका छन्।
यसैगरी पुरुष ६० केजी तौल समूहमा झापाका प्रकाश लिम्बु ईजाम र आर्मीका एकबहादुर घलेले फाइनलको यात्रा तय गरे। ६४ केजी तौल समूहमा भने आर्मीका दिपक श्रेष्ठ र नेपाल प्रहरीका भूपेन थापामगरले भिडन्त पक्का गरेका छन्।
६९ केजी तौल समूहमा आर्मीका विष्णु घले र एपीएफका विकास लामाले फाइनलमा स्थान सुरक्षित गरे। यस्तै ७५ केजी तौल समूहमा आर्मीका दिपेश लामा र एपीएफका कौशल जंग थापाले स्वर्ण भिडन्त तय गरेका छन्। ८१ केजी तौल समूहमा झापाका मनोहर बस्नेत(म्याक्स) र टिकापुरका सौजन थापा फाइनलमा प्रवेश गरेका छन्।