PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

मित्र भर्सेज मित्र अर्थात् डा. शशी शर्मा भर्सेज डा. केसी



सागर बुढाथोकी

मित्र भर्सेज मित्र अर्थात् डा. शशी शर्मा भर्सेज डा. केसी

काठमाडौँ: आइतबार सर्वोच्च अदालतले ४ वर्षअघि सरकारले बर्खास्त गरेका डीन डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा पुनर्बहाली गर्न आदेश दियो। सर्वोच्चको आदेश लगत्तै डा. शर्मा आइतबारदेखि काममा फर्किए। डा. गोविन्द केसीको १४ ‌औं अनशनको एकमात्र कारण बन्यो शशीलाई पुनर्बहाली गर्ने सर्वोच्चको फैसला।

डा. केसीको माग योपटक फरक छ,  ‘न्यायलयमा भ्रष्टाचार संस्थागत गराउने प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा।'

चिकित्सा शिक्षा सुधारका लागि भन्दै सरकार केन्द्रित आन्दोलन छेड्दै आएका केसीको निशाना योपटक न्यायलयतिर सोझिएको छ। केसीको १४ ‍औं अनशनको पहिलो माग हो यो।

त्यस्तै डा. केसीको मागको तेस्रो नम्बरमा छ, ‘वरिष्ठताको आधारमा डीन नियुक्त भएका व्यक्तिलाई डीन कायम गरियोस्। माफिया डीनको पुनर्बहाली तुरुन्त खारेज गरियोस्।’

डा. केसीको अनशन केसी भर्सेज सर्वोच्च अदालत मात्र हैन भर्खरै डीनमा पुनर्बहाली भएका शर्मासँग पनि लडाईँ हुने देखिन्छ। शर्माको बर्खास्ती पनि डा. केसीको अनशनमै जोडिएको थियो। गत सोमबार भएका दुई पत्रकार सम्मेलनले डा. केसी भर्सेज शर्माको द्धन्द समेत देखाएको छ।

डा. शशी शर्मा र केसी सहपाठी हुन्। डा. केसीको सुरुवाती अनशनका डाक्टर समेत रहेका थिए शर्मा। दलीय भागभण्डाको कारण शर्मा आइओएमको डीन भएपछि केसी उनकै विरुद्धमा अनशन बसेका थिए। त्यतिबेला केसीको माग थियो, ‘ निवर्तमान डीन डा. प्रकाश सायमीलाई पुनर्बहाली गर्नुपर्ने र सायमीले अस्वीकार गरे वरिष्ठताको आधारमा डीन नियुक्त गर्नुपर्ने।’

डा. केसीको अनशनको १२ दिन पुग्दासम्म शर्माले राजीनामा दिएनन्। तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले उनलाई २०७० माग ८ गते बर्खास्त गर्‍यो। सुनुवाइको मौका समेत नदिइ बर्खास्त गरिएको भन्दै शर्माले २०७० फागुन १ गते सर्वोच्चमा रिट दायर गरे।

अहिले तिनै शर्मालाई पुनर्बहाली गरेपछि सर्वोच्चको निर्णयविरुद्ध अनशनमा छन् केसी। पुनर्बहाली भएका शर्मा माफियाको इशारामा चल्ने र चलखेलकै लागि आइओएम आएको केसीको आरोप छ।

‘डा. शर्मा दलीय भागबन्डामा डीन भएका हुन्। उनी आइओएममा ४ दिनको लागि चलखेल गर्न आए। उनी माफिया र दलालको इशारामा चल्ने भएकाले अदालतले डीन नियुक्तिको प्रकियालाई अवरोध गर्न उनलाई ४ दिनको लागि डीन बनाएको हो।’ सोमबारको पत्रकार सम्मेलनमा डा. केसीले भनेका थिए।’

डा. शर्मालाई मेडिकल काउन्सिलमा रहँदा व्यापक भ्रष्टाचारको आरोप लागेको केसी बताउँछन। शर्मा चिकित्सा शिक्षा समवन्धी जाँचबुझ आयोगको छानविनमा समेत परेका थिए। अदालतको निर्णयले चार दिनपछि अन्य कसैलाई डीन बनाउन सक्ने बाटो खुलेको केसीको तर्क छ।

तर, शर्मा भने आफूलाई अदालतले न्याय दिएको बताउँछन्।

‘मलाई अदालतले न्याय दियो। म पदको लागि भन्दा पनि यो संस्थाको माया र न्यायलयको इज्जतका लागि चार दिनका लागि मात्रै भए पनि डीन बन्न आएको हुँ’ डा. केसीले अनसन सुरु गर्नै लाग्दा डा. शर्माले पनि पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘डा. केसीले मसँग आएर चार दिनका लागि डीन नबन्नु भनेको भए म डीन बन्दिनँ थिएँ। उहाँ आफै डीन बन्छु भनेर आए भने म अहिले नै डीनबाट राजीनामा दिन्छु। तर, उहाँले मसँग सल्लाह समेत नगरि अनशन बसेर दादागिरी देखाउँनु भयो।’

शर्मा अहिले आइओएममा आफूमात्र डीन रहेको बताउँछन्। भन्छन्,  ‘सर्वोच्चले मलाई पुनर्बहाली गरेसँगै पुरानो डीन स्वतः खारेज हुन्छ। अहिले आइओएममा १५ दिनदेखि ताला लागेको छ। म त्यो ताला खोल्न पहल गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell