
काठमाडौँ: डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।
सर्वोच्चको मंगलबारको आदेश अनुसार केसीलाई बिहान १० बजे अदालत उपस्थित गराइनेछ। पक्ष र विपक्ष दुबैको बहसपछि अदालतले मुद्दाको फैसला गर्नेछ।
डा. केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले बहस गर्नेछन्।
यस्तै, सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गर्नेछन्।
अपहेलना मुद्दामा केसीको मंगलबार सर्वोच्चले बयान लिएको थियो। बयान सकिए पनि बहस जारी रहेका कारण केसीलाई न्यायिक हिरासतमै राखिएको थियो। कानुन व्यवसायीको संख्या धेरै भएकाले बुधबार बहस सकिने सम्भावना न्युन छ। दुबै तर्फको बहस सकिएपछि मात्रै अदालतले मुद्दामा निर्णय सुनाउनेछ।
अदालतले अपहेलनामा दोषी ठहर गरेमा केसीलाई एक वर्षसम्म कैद तथा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ।