
काठमाडौँ: सर्वोच्च अदालतले डा. गोविन्द केसीको मुद्दामा सुनुवाइ गर्ने इजलास परिवर्तन गरेको छ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलासमा बयान भएको थियो। बुधबार बहसका लागि भने न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ।
सामान्यतया बयान गराएको इजलासले नै मुद्दाको बाँकी प्रक्रिया अघि बढाउने गर्छ। तर, केसी विपक्षी रहेको अपहेलनाको हेर्दाहेर्दैको मुद्दामा इजलास परिवर्तन भएको हो।
सर्वोच्चको पेशी व्यवस्थापनमा प्रधानन्यायाधीशको भूमिका निर्णयक हुन्छ। बयान गराएका इजलासका एक सदस्य ओमप्रकाश मिश्रलाई आज प्रधानन्यायाधीश सहितको पूर्ण इजलासमा तानिएको छ।
केसी विपक्षी रहेको मुद्दामा बहस सुरु भइसकेको छ। अहिले सर्वोच्च प्रशासनका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीको बहस जारी छ।