काठमाडौं : ३९औं हुआवे राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो दिन सम्पन्न टिम इभेन्टमा नेपाल पुलिस क्लबले पुरुष र महिलातर्फको उपाधि जितेको छ। राखेप च्याम्पियनसिपअन्तर्गत भएको प्रतियोगितामा पुलिसले पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हरायो भने महिलातर्फ एपीएफसँगको प्रतिस्पर्धात्मक खेलमा ३-२ ले विजयी भयो।
पुरुषतर्फ पुलिसका लागि नम्बर १ स्यान्टु श्रेष्ठले चन्दन शाहीलाई ११-४, ११-५,११-५ को सोझो सेटमा पराजित गरे। दिप सावनले कृष्ण थापा मगरलाई ११-८, ११-६, ११-७ ले पराजित गरे भने विनेश खनियाले नारायण घिमिरेलाई ११-५, ११-५, ११-५ ले हराए।
महिलातर्फ नविता श्रेष्ठले दुवै खेल जितेपछि पुलिसको जित सम्भव भएको थियो। नेपाल नम्बर १ खेलाडी नविताले सिक्का सुवाल र सेलिषा खड्गीलाई पराजित गरेकी थिइन्। पुलिसको लागि तेस्रो जित भने एलिना महर्जनले हात परिन। उनले सिक्क सुवाललाई ११-७, ११-६, १२-१० को स्कोरले हराइन्। एपीएफका लागि सेलिशा खड्गी र अनिता महर्जनले १-१ खेल जितेका थिए।
प्रतियोगिताको दोस्रो दिन सिंगल्स तर्फका खेल हुनेछ।
पुरुषमा ललितपुर र काठमाडौं तथा महिलामा काठमाडौं र रुपन्देहीले तेस्रो स्थान हात पारे।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा ३ सय खेलाडीको सहभागी रहेको छ ।