
काठमाडौं : नेपाल प्रहरीका हरिबहादुर थापाले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन बिहीबार पुरुष १० मिटर एयर राइफलको ६ सयमा ५७३ अंक जोडेका छन्। आर्मीका कृष्ण घोरासैनीले ५७० तथा मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ अंक जोडे।
उक्त स्पर्धाको महिला ४ सयमा मध्यमाञ्चलकी सिन्दुजा बस्नेत र प्रहरीकी दुर्गा सिन्जालीले समान ३७९–३७९ अंक बटुले। पूर्वाञ्चलकी अमिता श्रेष्ठले ३४३ अंक बटुलिन्।
पुरुष १० मिटर एयर पेस्तोलको ६ सयमा आर्मीका विष्णुकुमार विश्वा मगरले ५३३, पूर्वाञ्चलका राजु थापाले ५१७ र आर्मीका रामलाल गुरुङले ५१२ को प्रदर्शन गरे। सोही स्पर्धाको महिला ४ सय पूर्णाङमा प्रहरीकी सविता बस्नेतले ३५७, आर्मीकी सुनीता महर्जनले ३४५ र सुदूरपश्चिमाञ्चलकी सावित्रा बोहराले ३२१ अंक जोडे।