
पोखरा : पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले माघ २ गते देखि माघ ७ गते सम्म संचालन गर्ने ‘सातौँ स्वर्गिय रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को सम्पुर्ण तयारी पुरा भएको जनाएको छ।
‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्घोषका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष दिल बहादुर गुरुङले बताए।
यस संस्करणमा बगर भाइ खलक युके, युनाइटेड भेट्रान कलकत्ता भारत, काठमाडौ, विरगञ्ज, हेटौडा, चितवन, बुटवल, कैलाली लगायत स्थानिय क्लबहरु गरि २६ टिमको सहभागिता रहने टिम तयारी संयोजक चन्द्र गुरुङले जानकारी दिए।
वगरस्थित टुँडीखेल मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिताका लागि ४० देखि ६५ वर्षको उमेर तोकिएको छ।
प्रतियोगिताको विजेताले नगद १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र हात पार्नेछ भने उपिवजेताले ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै सर्वाधिक गोलकर्ताले ट्रफीसहित नगद ५ हजार प्राप्त गर्नेछन्।
यस्तै फाइनल खेलको म्यान अफ दि म्याचले ट्रफीसहित नगद ५ हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ।
आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च लाग्ने बताए।
संस्थाले पोखराको खेलकुदको विकासमा विशेष योगदान पूर्याएका पूर्व खेलाडी एवं चर्चित फुटबल प्रशिक्षक डम्बर गुरुङलाई ताम्रपत्र एवं दोसल्लासहित सम्मान गर्ने समेत अध्यक्ष गुरुङले जानकारी दिए।
यस भन्दा अघि पोखराका अग्रज खेलाडी एवं पूर्व खेलाडीहरु स्व.सुक बहादुर गुरुङ, मोतिमान शाक्य (२०६८), स्व. शिवशंकर रंजित (२०६९), शम्भु कार्की (२०७०), केशब रंजित (आनन्द) (२०७१), ईन्द्र गौचन (२०७२) दक्ष बहादुर गुरुङ (२०७३) लाई सम्मान गरिसकिएको छ।