PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार



पहिलोपोस्ट

हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार
फोटो स्रोत : https://www.youtube.com/watch?v=WtD3cJUVrIE

हेटौँडा: मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ। मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो। मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन्।  

करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ। सरकारी बजेटमा निर्माण भएको यो क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए।

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबिनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुन नसकेको अवस्थामा नवनिर्मित मैदानले उत्साह थपेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

उनका अनुसार हुप्रको १४० मिटर लम्बाइ र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो। क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेको छ।

क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको समिति अध्यक्ष तिमल्सिनाले बताए। मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन।

करिब रु चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन। बजेटको अभावमा म्याराथुन ट्र्याकलाई पूर्णता दिन नसकिएको एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell