काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष एक पत्र बुझाउँदै सरकार छाडेको जनाएको छ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित पत्र बुझाउदै काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु गरेको आरोप लगाउँदै आजैबाट मन्त्रीहरुलाई फिर्ता बोलाएको जनाएको छ।
पत्रमा भनिएको छ, 'ढिलासुस्ती, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा यस सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकोले आजैबाट हामीसम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँदछौ।'
पत्र शुक्रबार विना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले बुझाएका हुन्।
माओवादीले देउवा सरकारले सत्ता हस्तान्तरणमा नयाँ जनादेशअनुसार सहजीकरणमा लोकतान्त्रिक भूमिकाको अपेक्षा गरेको जनाएको छ।
नेकपा एमाले र माओवादीले चुनावी तालमेलमा जाने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले असोज ३१ मा माओवादीका मन्त्रीहरुलाई बिना विभागीय बनाएका थिए। माओवादीबाट सरकारमा १६ जना मन्त्री सहभागी थिए।