काठमाडौं : नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौल समूहमा स्नाच १९ वर्षअघिको कीर्तीमान तोड्दै स्वर्ण जितेका छन्।
उनले स्नाचमा १२१ केजी भार बहन गर्दै मदन शिबभक्तिको नाममा रहेको १२० केजीको कीर्तिमान तोडेका हुन्। यस अघि मदन शिबभक्तिले आठौं साफ गेम्समा १२० केजीको किर्तिमान बनाएको थिए।
दिनेशले क्लिन एण्ड जर्क र कुलमा पनि स्वर्ण जिते। उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गर्दै दुवैमा स्वर्ण जितेका हुन्।
स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए। नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए।
पुकार गुरुङ
पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजी माथीको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण हात पारे। उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे। दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे। उनले ९५ केजी भार बहन गरे। कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए। पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरि प्रथम स्थान हात पारे। क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए। स्नाचमा दोश्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य पाए। कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए।
प्रतियोगिताको तेश्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे। उलने स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरि कुलमा २३२ केजी भार बहन गरे। नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरि कुलमा २१० केजी भार बहन गरे। चन्दले रजत पदक पाए। तेश्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरि कुल २०० केजी भारका साग कास्य पाए।
पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए। उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे। टहलले स्नाचमा रजत पाए। उनले स्नाचमा ९० केजी मात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे। महर्जनले स्नाचमा १०० केजी भार बहन गरे। महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए। भक्तपुरका जयदी कोजुले कास्य पाए। कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरि कुल १९१ केजी भार बहन गरे।
च्याम्पियनसिपमा नेपाली सेनाका कमल बहादुर अधिकारीले पुरुषतर्फको स्ट्रङगेष्ट र उत्कृष्ट लिफ्टरको उपाधी समेत जितेका छन्। यस्तै महिला तर्फको स्ट्रङगेष्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टरमा नेपाली सेनाकी सञ्जु चौधरी रहे। विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे।
तारादेवी पुन
यसैगरि राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरुले पनि नगद ५ हजार प्राप्त गरे। प्रतियोगितामा कूल सात राष्ट्रिय किर्तिमान कायम भएका छन्।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, पूर्व उपाध्यक्ष सिताराम मास्के, नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डन, ह्याण्डबल संघका अध्यक्ष तेजा गुरुङ, एसएसपी तथा खेलाडी अशोक सिंह लगायले पुरस्कार वितरण गरेका थिए।
तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपीएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो।