
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गरेको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उहाँले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरेको बताइएको छ।
सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उहाँले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेको बताइएको छ।
ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपर्यो भनी प्रश्न गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गरेको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख गरिएको छ।
उनले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ।
हाइटी, एल्साल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन्।
रिपब्लिकन र डेमोक्रे्याट सांसद्हरूलाई नै राष्ट्रपति ट्रम्पले उल्टै प्रश्न गर्नुभएको थियो– किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ ल्याउनुपर्यो ? उनीहरुलाई किन अमेरिका प्रवेश गर्न दिने?
वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन्।