
काठमाडौं : निर्वाचन आयोगले प्रदेश प्रमुख नियुत्त गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको निर्वाचन नतिजा बुझाउन प्रदेश प्रमुख तोक्न आग्रह गरेको हो।
राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया शुरु गरिसकेको छ।
प्रदेश सभा सदस्यको निर्वाचन नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने कानुनी बाध्यता रहेको आयोगले जनाएको छ। प्रदेश सभा सदस्यहरुको नतिजा पठाउन प्रदेश प्रमुखको नियुक्ति गर्न आयोगले सरकारलाई आग्रह गरेको हो।
निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम रहेको छ।