
- टेक शाही-
डोल्पा जिल्लामा पहिलोपटक आङ खस्ने महिलाको पहिचान गरिँदै छ। दुर्गम तथा हिमाली जिल्लाको महिलाको आङ खस्ने समस्या बढ्दो क्रममा हुन सक्ने भन्दै वातावरणीय कृषि तथा विकास केन्द्र(केड)ले तथ्याङ्क संकलन गर्न लागेको छ।
आङ खस्ने सम्बन्धी अन्तरक्रिय कार्यक्रममा महिला सशक्तीकरण केन्द्र डोल्पाले डोल्पामा २० प्रतिशत आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्याङ्क सार्वजनिक गरेको हो। साविकको ५ वटा गाविसहरु त्रिपूराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २ सय ५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत आङ खस्ने रोगबाट पीडित रहेको महिला सशक्तीकरण केन्द्र डोल्पाकी कोषाध्यक्ष काली चलाउनेले बताइन।
वातावरणीय कृषि तथा विकास केन्द्र(केड)ले आर्थिक सहयोग गरी स्थानीय संस्थाहरुसँग मिलेर काम गर्ने केड डोल्पाका संयोजक उमाकन्त भुषालले जानकारी दिए। उनका अनुसार महिलाको सवालमा महिला सशक्तीकरण केन्द्र डोल्पाले तीव्र रुपमा काम गरेको बताए। जोडीदार सामाजिक सहजकर्ता पनि भएकोले महिलाको आङ खस्ने रोगको पहिचान गर्न सहज हुने उनले बताए।
‘महिला सशक्तीकरण केन्द्रबाट जोडीदार सहजकर्ता राखिएको छ उनीहरुले आङ खस्ने रोग भएका महिलाको पहिचान गर्ने काम गर्दछन्,’ कोषाध्यक्ष काली चलाउनेले भनिन्। उनका अनुसार जोडीदार महिला महिनाको ५ दिन प्रति दिन ८ सयका दरले पारिश्रमिक दिने र उनीहरुले महिलाहरुलाइ सुसुचित गर्ने छन्।
घरघरमा गएर महिलालाइ उनका समस्याबारे जानकारी लिन कठिन हुने जोडी सहजकर्ता एलिना बिश्वकर्माले बताइन। उनले भनिन्, ‘अब त सजिलो हुदै गएको छ। दाउरा, मेलापात, चाडवाडमा एक्लै हुँदा भन्ने गर्दछन। समाजमा भन्न भने लाज मान्ने गर्छन्।’
हिमाली जिल्ला र शिक्षाको कमीको कारण पनि डोल्पाका महिलाहरुमा आङ खस्ने रोगको समस्या धेरै भएको अर्की जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाइन्। उनी भन्छिन् ‘पौष्टिक आहार पनि छैन काम नगरी सुख छैन बाध्यता रहेको छ।’ पहिले पहिले महिलाहरु लाज मान्ने गर्थिन् अब त सजिलै भन्न सक्ने भइ सकेकीले आङ खस्ने रोग सम्बन्धी जानकारी दिन सहज भएको उनले बताइन।
डोल्पा जिल्लामा पहिलोपटक महिलाको स्वास्थ्यलाई मध्यनजर गरी आङ खस्ने रोग सम्बन्धी खोजमुलक काम गर्न लागेको केड डोल्पाका लिला टमटाले जानकारवी दिए।
उनका अनुसार जिल्ला स्वास्थ्यसँग सहकार्य गरेर काम गरेको र सूरुवातीमा रहेका छौ जिल्लामा यस्ता रोगबाट ग्रसित महिलाहरुको संख्या धेरै नै हुने बताए। पहिचानपछि चेकजाँच गरिने र तराइका जिल्लामा निःशुल्क उपचार गरिने पनि बताए।