PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

नविता र स्यान्टु च्याम्पियन



पहिलोपोस्ट

नविता र स्यान्टु च्याम्पियन
फोटो : एएनटिटिए

काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जितेका छन्। दुवै खेलाडी शनिबार भएको फाइनल खेलमा आफ्नै विभागका खेलाडीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्।

पुरुष सिंगल्समा श्यान्टु लगातार दोस्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो।

महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह ८ पटक च्याम्पियन बनेको कीर्तिमान छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा स्यान्टुले पुलिसकै विनेश खानियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे। उनले त्यसअघि सेमिफाइनलमा एपीएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गरेका थिए। विनेशले भने सेमिफाइनलमा पुलिसकै प्रदिप रोक्कालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

महिलातर्फ पुलिसकी नविता श्रेष्ठले आफ्नै विभागकी एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० सोझो सेटमा पराजित गरिन्। नविताले सेमिफाइनलमा आर्मीकी दीक्षा तामाङलाई हराएकी थिइन्। दीक्षा आर्मीकै स्वेच्छा नेम्वाङ्गलाई हराउँदै सेमिफाइनल पुगेकी थिइन्। एलिनाले सेमिफाइनलमा आर्मीकी रविना महर्जनलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएकी थिइन्।


मिक्स्ड डबल्सतर्फ आर्मीका स्वेच्छा नेम्वाङ्ग र चन्दन शाहीको जोडीले एपीएफका अमरबहादुर मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ले पराजित गरे।

सेमिफाइनलमा एपीएफकै पुरुषोत्तम बज्राचार्य र सिक्क सुवालको जोडीलाई हराएको आर्मी जोडीले त्यसअघि साविक विजेता दिप साउन र नविता श्रेष्ठको जोडीलाई परजित गरेको थियो। अमर र सेलिशाको जोडीले पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई पछि पार्दै फाइनलमा स्थान पक्का गरेका थिए।

७ स्पर्धा समावेश प्रतियोगितामा प्रहरीले ६ स्वर्णमाथि कब्जा जमायो। प्रहरीले मिक्स डबल्समा मात्र स्वर्ण जित्न सकेन। पहिलो दिन पुरुष र महिलाको टिम इभेन्ट जितेको पुलिसले शुक्रबार महिला र पुरुषतर्फ डबल्सको पनि उपाधि जितेको थियो । डबल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र दिप साउन तथा महिलातर्फ एलिना महर्जन र नविता श्रेष्ठ विजयी रहेका थिए।

चार दिन चलेको प्रतियोगितामा ३ क्षेत्र र ३७ जिल्ला संघ गरी ४० टिमका २ सय ३५  खेलाडीले सहभागिता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell