
अजमान : नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। युएईको दुबईमा भएको तेस्रो खेलमा नेपाल श्रीलंकासँग ३४० रनको फरिकलो अन्तरले पराजित भएको हो।
लगातार तेस्रो हारपछि नेपालको सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि सकिएको छ।
शनिबार दुबईको अजमानको ओभल क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३३.४ ओभरमा १५४ रनमै समेटिएपछि लज्जास्पद हार सामना गरेको हो।
नेपालले पहिलो विकेटका लागि ५३ साझेदारी गरेपनि लगातार विकेट गुमाएपछि कम स्कोरमा रोकियो। सुनील थापामगर र रमेश बानियाँले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएपनि थप १०० रन जोड्दा नेपालले १० विकेट नै गुमायो।
आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउटर भए। नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ४७ बलमा ३ चौका प्रहार गरे। ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए। अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए। खिमानन्द गैर १३ रनमा रनआउट भए। नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए। पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए। श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ४० ओभर खेल्दै ४ सय ८४ रनको बिशाल स्कोर बनाएको थियो। ढिलो ओभर बलिङ फ्याँकेपछि नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो। श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले। प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोडे।
नेपालका बलरले अतिरिक्त ५३ रन दिएपछि श्रीलंकालाई ठुलो स्कोर खडा गर्न मद्दत मिलेको थियो। नेपालका लागि दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए।
नेपालको हारसँगै सेमिफाइनल राउन्डमा पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ। भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालि सकेको छ।
नेपालले अब आइतबार साकिकको विजेता भारतसँग खेल्नेछ। विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो।