PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा टुङ्गियो, लिभरपुलसँग ४-३ ले पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा टुङ्गियो, लिभरपुलसँग ४-३ ले पराजित

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले यस सिजनको पहिलो हार बेहोरेको छ। लिग अन्तर्गत आइतबार भएको  प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले सिटीलाई ४-३ ले पारजित गर्दै सिजनको पहिलो हार चखायो। यससँगै लिभरपुलले पहिलो चरणमा बेहोरेको ५-० को हारको बदला समेत लिएको छ। उक्त खेलमा रातो कार्ड पाएका साडियो मानेले यस खेलमा भने गोल गरे।

घरेलु मैदान एनफिल्डमा एलेक्स च्याम्बरलाइनले नवौँ मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए। ४१औँ मिनेटमा सिटीका लरे सानेले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे।

तर दोस्रो हाफमा लिभरपुलले ३ गोल थप्यो। सिटीले भने २ गोल मात्र फर्काउन सक्यो। रोवर्टो फिर्मिनोले ५९औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। सिटी सम्हालिन नपाउँदै त्यसको दुई मिनेटपछि साडियो मानले गोल गर्दै लिभरपुललाई ३-१ को अग्रता दिलाए। लिभरपुलका लागि मोहम्मद सलाहले ६८औँ मिनेटमा चौथो गोल गरे।

४-१ ले पछि परेको सिटीका लागि ८४औँ मिनेटमा बर्नार्डो शिल्भाले गोल गर्दै गोल अन्तर कम पारेका थिए। सिटीले इन्जुरी टाइममा पनि गोल गर्‍यो। इन्जुरी टाइमको पहिलो मिनेटमा इकाए गुन्डागोनले गोल गर्दै खेल ४-३ को स्थितिमा पूर्‍याए। तर सिटीलाई खेलमा फर्कन ढिला भइसकेको थियो र सिजनको पहिलो हार बेहोर्न बाध्य भयो।

हारपछि पनि २३ खेलबाट ६२ अंक जोडेको सिटी अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। उता २३ खेलबाट ४७ अंक जोडेको लिभरपुल चेल्सीलाई गोल अन्तरमा पछि पार्द तेस्रो स्थानमा उक्लेको छ। २२ खेलबाट ४७ अंक नै रहेको म्यानचेष्टर युनाइटेड गोल अन्तरमा अगाडी रहदै दोस्रो स्थानमा छ। युनाइटेडले भोली स्टोक सिटीसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell