PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

डुम बस्तीको कहर, परालमा सुतेर काट्दै शीतलहर

डुम बस्तीको कहर, परालमा सुतेर काट्दै शीतलहर

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः पर्साको धोरे गाउँ नेपाल र भारतमा परिचित ठाउँ हो। कारण छठको भोलिपल्ट हरेक वर्ष लाग्ने कुस्ती मेला। त्यो पनि पुरुषले मात्रै हेर्न पाउने।

वीरगंजबाट २५ किलोमिटर पश्चिममा भारतीय सीमासँग जोडिएको छ धोरे गाउँ। संघीय संरचना अनुसार पर्सा क्षेत्र नं. ३ पकहामैनपुर–१ मा पर्छ।

कुस्ती र अनौठो मेलाले पहिचान दिलाएको धोरे गाउँ विपन्नको सवालमा निकै परिचित छ। 

बस्तीमा कसैसँग एक जोर चप्पल छैन। चिसो धान्ने कपडा छैन। रात परेपछि परालमै सुतेर रात काट्ने गरेको हरिलाल डुम बताउँछन्।

दुई छाक कसरी टार्ने भन्ने हुन्छ बस्तीको सोनालाल सुनाउँछन्।

बस्तीको अवस्था मार्मिक छ।

०००००

९ घरको डुम बस्तीको सर्सर्ती परिचय छ –फुसको छानो र टाटीले बनाएका घर। बीचमा पकडीको रुख। बालबालिका, युवा, वृद्धवृद्धा गरी कुल ३५ जनाको परिवार। हरेक घरमा सुत्ने ठाउँमा परालको ओछ्यान। यही ओछ्यान शीतलहर काट्ने साहरा बनेको छ।   

ऐलानी जग्गामा धेरै वर्ष पहिले अग्रज श्रीलाल राउत डुमले बस्ती बसालेका थिए। लहरै बनाइएका फुसको घरका छानो अहिले उजाड भइसकेका छन्। 

घरको भित्तो पोतिएको छैन। भित्ताको खर पनि झरिसकेको छ। बस्तीकै उत्तरमा खानेपानीको एउटा धारो पनि छ। जुन विग्रेको छ। धारा नजिकै डुम बस्तीले खोर बनाएर सुँगर पालेका छन्। जसले गर्दा बस्ती दुर्गन्धित छ। सुँगुरको खोर रोगको कारण बन्दै आएको छ।

शिक्षा र सचेतनाबाट टाढा रहेको धोरे डुम बस्तीमा जो–कोही जाँदा आँखा रसाउँछन्।


०००००

राज्यसंयन्त्रभित्र दूरी हुँदैन तर, डुम बस्तीसँग राज्यले समदुरी पनि राख्न सकेको छैन। दुई छाक खान धौधौ बस्तीका बालबालिका बल्लतल्त स्कुल पुग्छन् तर, जन्मदर्ता नभएका कारण निकालिन्छन्।

डुमको पीडा यतिमै सकिन्न। जग्गा छैन, घर छैन। स्वास्थ्य उपचार त टाढाको कुरा।

स्वास्थय चौकीमा उपचार र औषधि पाइँदैन। यहाँसम्म कि दलितले पाउँदै आएको समाजिक सुरक्षाको भत्तामा पनि वडासचिव र नेताहरुले बदमासी गरेको आरोप उनीहरुको छ।

कुनै धार्मिक कार्यक्रममा डुमको पहुँच छैन। कसैका घरमा पूजापाठ परे डुमलाई रोक लगाइन्छ।

एकपटक पक्षघात खेपिसकेका श्रीराउत डुम परालमाथि एउटा पातलो कम्बलमा बेरिएर सुतेको अवस्थामा भेटिए। अन्य बाँसबाट दउरा बनाउने काममा थिए। पैसाको अभावमा उनलाई उपचार गर्न लगिएन। बाँसको काम नगरे दुई छाक खान पाइँदैन।

 

मन्त्रीको गाउँ भएर पनि विभेद र छुवाछुत

घोरे पूर्व उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीको गाउँ पनि हो। मन्त्रीको गाउँ भएर पनि डुम बस्ती न्युनतम मानव अधिकारबाट बञ्चित छ। विभेद र छुवाछुतले व्याप्त छ डुम बस्ती। 

‘नेताहरुलाई खाली भोटसँग मतलब छ। को कसरी बाँच्दैछ, कसरी मर्दैछ के मतलब उच्च जात मर्दा टोलमा बाजागाजा बज्छ दाहसंस्कारमा। हाम्रोमा मर्दा कसैलाई फरक पर्दैन’ बस्तीकी नगिया डोमिनले आँसु झार्दै भनिन्, ‘यस्तै हो डुमको जिन्दगानी।’

सरकारले उनीहरुलाई भोग गरेको जग्गाको लालपूर्जा समेत दिएको छैन। बस्तीमा उनीहरुले जीवनयापनका लागि न्युनतम आवासको अपेक्षा राखेका छन्। गाउँपालिकाबाट एउटा धारा र शौचालयको अपेक्षा राखेका छन्।

 

बस्तीमा स्वास्थ्य टोली

शीतलहरको कहरमा रहेका बस्तीमा रोगको संक्रमण उस्तै छ। रोगबाट संक्रमित बस्तीमा चेकजाँच र औषधोपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका फिजिसियन डा.उदयनारायण सिंह, पहल संस्था र लायन्स क्लब अफ वीरगंजका प्रतिनिधि बस्ती पुगेका छन्।

स्वास्थ्य शिविरमा चेकजाँच गरिएका २५ मध्ये ४ जना छाला रोग, ३ जना उच्च रक्तचाप र १२ जना बालबालिकामा रुखाघोकी तथा ज्वरोबाट संक्रमित रहेको फेला परेको छ।

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. सिंह भन्छन्, ‘दुनियाँले शहरमा मात्रै कम्बल बाँडिरहेका छन्। वास्तविक दिनदुःखी त यिनीहरु हुन्। बस्तीमा सरसफाइ र शिक्षाको कमी कमी छ।’

वीरगंजस्थित पहल संस्थाका अध्यक्ष दिलिपराज कार्कीले गाउँपालिकको समेत समन्वयमा बस्ती सुधार आवश्यक रहेको बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell