PahiloPost

Mar 22, 2025 | ८ चैत्र २०८१

राष्ट्रिय सभा चुनावका लागि कांग्रेसको तयारी सुरु



रासस

राष्ट्रिय सभा चुनावका लागि कांग्रेसको तयारी सुरु

काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ।

पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले जनाएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको पृष्ठभूमिमा आज सो छलफल भएको बताइएको छ।

यसअघि प्रधानमन्त्री देउवाले विभिन्न राजनीतिक दलसँग यसबारेमा छलफल गरी सहमतिका लागि प्रयास गरिसकेका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानूनी बाध्यता छ। 

राष्ट्रिय सभाका लागि मतदाता हुने प्रदेश सभा सदस्यले निर्वाचन तालिकाअनुसार त्यसअघि नै प्रदेश प्रमुखबाट शपथ लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। 

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारी समेत गरिहेको छ। हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठक बोलाउन माग भइरहेको छ। 

छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell