PahiloPost

Mar 22, 2025 | ८ चैत्र २०८१

लार्चा पुल पुन: निर्माण हुँदै, के कोदारी मार्गले फेरि जोड्दा चीन?



रासस

 लार्चा पुल पुन: निर्माण हुँदै, के कोदारी मार्गले फेरि जोड्दा चीन?

  • रमेश लम्साल - 
काठमाडौं : सरकारले बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। 

तातोपानीसँग सम्पर्क विच्छेद भएकाले सरकारले लार्चा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार तथा पुनःनिर्माणको काम थालेको हो।  

सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार आगामी सात दिनभित्र लार्चा पुल पुनःनिर्माण हुनेछ। सरकारले तत्कालका लागि बेलिब्रिज राखेर उक्त पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ। 

निरन्तरको वर्षासँगै आएको बाढीले भोटेकोशी गाउँपालिका–३ मा रहेको लार्चा पुल गत साउन ८ गते बगाएको थियो। करिब ७० मिटर लामो उक्त पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीचभाग भाँचिएपछि आवागमनमा समस्या भएको थियो। 

सडकमाथिबाट आएको पहिरोले पुलको बीचभागमा भाँचिएको थियो। तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएसँगै तातोपानीसँगको सडक सम्बन्ध टुटेको थियो। स्थानीय प्रशासनले फड्के र तुइनमार्फत आवतजावतको व्यवस्था मिलाए पनि स्थानीयवासीको दैनिक जीवन कष्टकर बनिरहेको छ। 

महानिर्देशक सिग्दलले कोदारी राजमार्ग पुनःनिर्माणमा चिनियाँ कम्पनीले चासो व्यक्त गर्दै विभागमा आशयपत्र पेश गरेको जानकारी दिए। विभाग आफैले पुल निर्माण गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरेको उनको भनाइ छ। उक्त राजमार्ग ‘डेडिकेटेड डबल लेन’ बनाउने योजना छ।  

२०७१ सालको जुरे पहिरो, २०७२ सालको ‘गोरखा भूकम्प’, २०७३ सालको भोटेकोशीको बाढी र २०७४ सालको पहिरोका कारण कोदारी राजमार्गका ६० भन्दा बढी स्थानको सडक क्षतिग्रस्त भएको छ। तातोपानी क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ। 

गोरखा भूकम्पलगत्तै चिनियाँ सहयोगमा राजमार्ग मर्मत गरिए पनि त्यसपछिका वर्षामा आएको पहिरोका कारण राजमार्ग खण्डहर जस्तै बनेको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए।  

सडक विभाग र गाउँपालिकाको पहलमा राजमार्ग मर्मत सम्भारको तयारी गरिएको छ। लार्चामा बेलिब्रिज जडान भएपछि अरु काम अगाडि बढ्ने उनको भनाइ छ।  

स्थानीयवासी साङदोर्जे शेर्पाले फुल्पिङकट्टी र तातोपानी जोड्ने लार्चा पुल बगाएका कारण उत्तरी सिन्धुपाल्चोकवासी समस्यामा परेका र सम्बद्ध पक्षले पुनःनिर्माणमा ध्यान नदिएको गुनासो गरे। 

भोटेकोशी गाउँपालिका–४ का आङछिरिङ शेर्पाले तत्काल राजमार्ग पुनःनिर्माणमा पहल गर्नुपर्नेमा जोड दिँदै भने, ‘सधैँ बन्ने क्रममा छ। तयारीमा छौं भन्ने कुराले अर्थ राख्दैन। हामी तत्काल राजमार्ग पुनःनिर्माण होस् भन्ने चाहन्छौं।” 

२०३८ सालमा पनि बाढीले तातोपानीस्थित मितेरी पुल बगाएको थियो। चिनियाँ सरकारको सहयोगमा करिब दुई वर्षपछि सो पुल पुनःनिर्माण भएको थियो। 

राजनीतिक खिचातानीका कारण पुल निर्माणमा ध्यान नदिएको भन्दै स्थानीय सरोकार भएका व्यक्तिले आपत्ति प्रकट गर्दै आएका छन्। 

भूकम्पले क्षतिग्रस्त उक्त राजमार्ग पुनःनिर्माणमा सोचेजति प्रगति नभएको र सरकारी निकायले चासो नदिएको भन्दै नेपाल हिमालय सीमापार वाणिज्य संघले आपत्ति जनाएको छ। संघका अध्यक्ष विष्णु खत्रीले व्यवसायीले करोडौँ लगानी गरेको ट्रक तथा कन्टेनर पनि राजमार्गमा फसेको र व्यवसाय दुरुहपूर्ण अवस्थामा पुगेको बताए। 

स्थलमार्गबाट आयात हुने चिनियाँ सामान आयात गर्न समुद्रीमार्ग प्रयोग गर्दा लागत र समय बढेको उनको भनाइ छ। गोरखा भूकम्पले क्षति पुर्याएको चीनतर्फको सडक पुनःनिर्माण थालिएको भए पनि नेपालतर्फ सुस्त गतिमा काम भइरहेको गुनासो गरे नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले। 

“राजमार्ग पुनःनिर्माण हुन्छ र तातोपानी नाका खुल्छ भन्ने सुन्दै आएको करिब तीन वर्ष हुन लाग्यो, बल्ल काम हुन्छ भन्ने खबर आएको छ। काम शुरु नभई खुशी भइहाल्ने अवस्था छैन”, उनले भने। 

तातोपानी नाकामा नेपालतर्फ भन्सार, अध्यागमन, सीमा सुरक्षालगायत सबै सरकारी निकाय र कार्यालय राखिए पनि चीनतर्फ कुनै सरकारी अधिकारीको उपस्थिति छैन। सीमित सुरक्षाकर्मीले सीमाको सुरक्षा गरिरहेका छन्। 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले राजमार्ग विस्तार र सरकारी संयन्त्रको पुनःस्थापनाका लागि पहल भइरहेको बताए। छिट्टै तातोपानी नाका खुल्नेमा आशावादी देखिएका तामाङ र उनका चिनियाँ समकक्षीबीच गत पुस ८ गते तिब्बतको ल्हासामा द्विपक्षीय भेटवार्ता तथा छलफलसमेत भएको थियो। 

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद अग्निप्रसाद सापकोटा कोदारी राजमार्गको मर्मत सम्भारको काम  शुरु भइसकेको बताए। तातोपानी नाका खुलाउने पहल भइरहेको जानकारी दिँदै उनले भने, “उच्च कूटनीतिक पहल भइरहेको छ। आशा गरौँ निकट भविष्यमा नै नाका खुल्छ। त्यसभन्दा पहिले हामीले राजमार्गलाई व्यवस्थित बनाउनतर्फ लाग्नुपर्छ।” 

तातोपानी नाका सामान्य नाका नभई रणनीतिक महत्वको नाका भएकाले चीनले उठाएका केही विशिष्ट मागलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell